चालू आर्थिक वर्षमा एक तिहाइ सडक मात्रै कालोपत्रे हुने « Imagekhabar – Online News Portal of Nepal
१७ असार २०७९, शुक्रबार | Fri Jul 1 2022


चालू आर्थिक वर्षमा एक तिहाइ सडक मात्रै कालोपत्रे हुने

कन्सट्रक्सन होलिडेका कारण निर्माण कार्य सुस्त

169
Shares

काठमाडौं । चालू आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्रे हुने भएको छ ।

पूरक बजेट ढिला आउनु, कोभिड संक्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्सट्रक्सन होलिडे’ का कारण लक्ष्य भन्दा कम मात्रै सडक कालोपत्र हुने देखिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षमा एक हजार ८ सय किलोमिटर सडक कालोपत्रको लक्ष्य लिएको थियो । गत महिनासम्ममा झण्डै ६ सय किलोमिटर मात्रै कालोपत्र गरिसकिएको सडक विभागले जनाएकाे छ । ८ सय किलोमिटर सडक ग्राभेल गर्ने लक्ष्य लिइएकोमा हालसम्म २ सय ९५ किलोमिटर सम्पन्न भएको छ ।

अहिले पनि ‘कन्सट्रक्सन होलिडे’का कारण निर्माण सुस्त छ । गत महिनासम्ममा मन्त्रालयको भौतिक प्रगति ५५ प्रतिशत थियो । भुक्तानी कम भएकाले वित्तीय प्रगति भने झण्डै ३९ प्रतिशत मात्रै थियो । कतिपय योजनामा काम हुने तर बजेट नहुने र कतिपयमा बजेट हुने तर काम नहुने समस्या रहेको छ । काम भएको शीर्षकमा पैसा नभएमा काम नभएका शीर्षकबाट त्यसमा रकमान्तर गर्नुपर्ने हुन्छ ।

अर्थमन्त्रालयमा रकमान्तरका लागि अनुरोध गरिएको र मन्त्रालयले स्वीकृत गरेपछि भुक्तानी गरिने महानिर्देशक थापाले बताउनुभयो । चालू आर्थिक वर्षमा प्रगति ६० देखि ६५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गत वर्षमा सुरु विनियोजनअनुसार ७६ प्रतिशत प्रगति भएको थियो । चालू आर्थिक वर्षमा गत वर्ष जति प्रगति नहुने बताइएको छ । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा ३ सय २५ किलोमिटर सडक कालोपत्रे भएको सरकारले गत महिना सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

उक्त सर्वेक्षण अनुसार गत फागुनसम्ममा २६५ किलोमिटर सडक खण्डस्मिथ (ग्राभेल) भएको थियोे भने ९५ किलोमिटर मर्मत भएको थियो । हालसम्म १६ हजार ९ सय ३९ किलोमिटर कालोपत्र सडक र ८ हजार ८ सय २१ किलोमिटर कच्ची गरी सडकको लम्बाइ ३३ हजार ८ सय ७१ किलोमिटर पुगेको छ ।

गत असारसम्म १६ हजार ६ सय १४ किलोमिटर कालोपत्र, ८ हजार ७१ किलोमिटर खण्डस्मिथ र ८ हजार ९ सय ३१ किलोमिटर कच्ची सडक बनेको थियो ।