Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


सिर्सिया नदीकाे पानीकाे गुणस्तर जाँच्न नमुना संकलन


234
Shares

काठमाडौं । बारा र पर्साको सिर्सिया नदीमा बग्ने पानीको गुणस्तर मापनको लागि प्रदूषण जाँच गरिने भएको छ ।

औद्योगिक प्रदूषणको चपेटामा परेको सिर्सिया नदीमा बग्ने पानीको प्रदुषण जाँच गर्न वातावरण विभागले विभिन्न १२ ठाउँबाट नमुना संकलन गरेको हाे। एउटै नदीमा अवस्थित वातावरणीय प्रभाव अध्ययन स्वीकृत भएका उद्योग आयोजनाहरुको सञ्चालनबाट नदीको प्राणालीमा पर्न सक्ने एकीकृत वातावरणीय असरको स्थलगत अध्ययन गर्न विभागले टोली खटाएको हो । विभागबाट गएका ४ सदस्यीय टोली पानीको नमुना संकलन गरेर काठमाडौं फर्किएको छ ।

जीतपुरसिमरा उपमहानगरको रामवन झाडीबाट बग्ने सिर्सिया नदी वीरगञ्ज हुँदै रक्सौलतर्फ जान्छ । बारा–पर्सा औद्योगिक क्षेत्रमा पर्ने उद्योगहरुले प्रदूषित पानी प्रशोधन नगरी सिधै यहि नदीमा खसालिदिन्छन् । त्यसको असरका कारण सिर्सिया नदीमा कञ्चन पानीको साटो प्रदूषित कालो लेदो पानी बग्ने गरेको छ । यसअघि जल तथा मौसम विज्ञान विभागले पनि सिर्सिया नदीको प्रदूषणको अवस्थाका विषयमा अध्ययन गरिसकेको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत गठित प्रदूषण अनुगमन समितिले नदी प्रदूषण गर्ने उद्योगहरुको नामै तोकेर कारबाहीका लागि सिफारिस गरेपनि हालसम्म उक्त सिफारिस कार्यान्वयन गरिएको छैन् ।