मधेस प्रदेशमा बजेट ल्याउने तयारी « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


मधेस प्रदेशमा बजेट ल्याउने तयारी


91
Shares

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४० अर्ब हाराहारीमा बजेट ल्याउने तयारी थालेको छ ।

असार १ गते वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था अनुरूप प्रदेश सरकारको आर्थिक मन्त्रालयसहितका अन्य मन्त्रालयलहरू अन्तिम तयारीमा जुटेका छन् ।

प्रदेश सरकारले संघीय सरकारबाट आगामी आर्थिक वर्षको लागि सशर्त अनुदानको १० अर्ब ६ करोड, विशेष अनुदान २ अर्ब ५६ करोड, सामानीकरण अनुदानवापत ७ अर्ब ८१ करोड, राजस्व बाडफाँड करिब साढे ७ अर्ब र समपुरक बजेट ७८ करोड गरी २८ अर्ब ७२ करोड रकम मधेश प्रदेश सरकारले पाउनेछ ।

त्यसबाहेक प्रदेशको आन्तरिक अनुमानित आम्दानी साढे ३ अर्ब, चालु आर्थिक वर्षको बजेटमा खर्च हुन सक्ने अनुमानित रकम ९ अर्ब र आन्तरिक ऋण १ अर्ब समावेश गरी सरकारले करिब ४० अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिरहेको जनाइएको छ ।

चालु आर्थिक वर्षको बजेट करिब ३४ अर्ब रहेको छ । चालु आर्थिक वर्षमा करिव ७० प्रतिशत बजेट खर्च हुने अनुमान छ । त्योभन्दा कम खर्च भए बजेटको आकार अझै बढ्ने बताइएको छ ।

यता, आर्थिक संकट र संसदीय निर्वाचनलाई दृष्टिगत गर्दै संघीय सरकारले आगामी आर्थिक वर्षमा संसदीय विकास कार्यक्रमको बजेट हटाए पनि मधेश प्रदेश सरकारले भने ल्याउने भएको छ ।

संघीय सरकारले मुलुकमा आर्थिक संकट र आगामी आर्थिक वर्षमै निर्वाचन भएकाले पनि व्यवहारिक नहुने भनेर संघीय सरकारले बजेट काटेको छ । तर, मधेश प्रदेश सरकारले त्यसलाई बेवास्ता गर्दै संसदीय विकास कार्यक्रमको लागि बजेट राख्ने तयारी गरेको छ ।