काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेकपालाई कमजोर बनाउने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु लागिपरेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७१ औं स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष दाहालले नेकपालाई कमजोर पार्ने निरन्तर प्रयास भइरहेको बताएका हुन् ।
उनले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गरेर जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको स्पष्ट पारेका छन् ।
पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न नेकपाका नेता–कार्यकर्तालाई अध्यक्ष दाहालको अपील छ ।
नेकपा स्थापनाको ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ-आफ्नो ठाउँमा सकारात्मक पहलका लागि अध्यक्ष दाहालले सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई अपील गरे ।
पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिने भन्दै उनले यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि पनि सम्पूर्ण नेता–कार्यकर्तालाई विज्ञप्ती मार्फत अपील गरेका छन् ।
७१ वर्ष लामो राजनीतिक संघर्षका दौरान कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश मात्र नगरेको बरु विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश पनि दिएको अध्यक्ष दाहालको भनाइ छ । १९४९ अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।










प्रतिक्रिया दिनुहोस्