म्याग्दी । घर छाउने ढुङ्गा, स्लेट र जडिबुटीको प्रचुर सम्भावना भएको म्याग्दीको रुम गाउँका स्थानीयले त्यसबाट प्रत्यक्ष लाभ लिन सकेका छैनन् ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने रुम गाउँको सिरानमा रहेको डुडे लेकमा घर छाउने ढुङ्गा, स्लेट र औषधिजन्य जडिबुटीको खानी छ ।
गाउँको शिरानमा रहेको भीरालो पाखोमा विदेशबाट आयातितभन्दा स्तरीय स्लेट ढुङ्गा खानी रहेको स्थानीय टेकबहादुर रोकाले बताउनुभयो ।
ढुङ्गा खानीलाई व्यवस्थित रूपमा सञ्चालन गर्दा स्थानीयले रोजगारी पाउनुका साथै गाउँपालिकालाई समेत मनग्गे आम्दानी हुने उहाँको भनाइ छ ।
‘यहाँको स्लेट र ढुङ्गा गुणस्तरका हिसाबले साह्रै उत्कृष्ट छ, प्रविधि र प्रशोधनको व्यवस्था हुन सक्ने हो भने अन्तराष्ट्रिय बजारमा समेत यहाँको स्लेट अब्बल ठहरिने सम्भावना हुँदाहुँदै पनि सरोकारवाला निकायले ध्यान दिन सकेको छैन’ रोकाले भन्नुभयो ।
रुमका विभिन्न ७ ठाउँमा स्लेट खानी रहेका छन् । त्यसबाहेक व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेका स्थानीय जगबहादुर पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरकारी पाखोमा रहेका खानीबाट वडालाई अलिअलि आम्दानी हुने गरेको भए पनि ती खानीलाई व्यवस्थापन गर्न नसक्दा ठूलो राजस्व गुमेको छ ।
रुम स्लेट र जडिबुटीका लागि महत्वपूर्ण ठाउँ भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।
यहाँ रहेका सम्पदाहरुको पहिचान र व्यवस्थापन गरी तिनीहरूलाई स्थानीय तहको आयसँग जोड्ने प्रयास भैरहेको उहाँले बताउनुभयो ।
केही वर्ष अघिसम्म म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा, अर्घाखाँची लगायतका जिल्लाका विभिन्न गाउँहरूबाट यहाँका घर छाउने ढुङ्गाको माग आउने गर्दथ्यो ।
प्रतिक्रिया दिनुहोस्