जनताले सरकार भएको अनुभूति गर्न पाएनन् : कृष्णभक्त पोखरेल « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Tue Jun 28 2022


जनताले सरकार भएको अनुभूति गर्न पाएनन् : कृष्णभक्त पोखरेल


143
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले सर्वसाधारण जनता मूल्यवृद्धिको चर्को मारमा पर्दा समेत कुनै अनुभूति गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन सरकारसँग माग गर्दै एमालेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पोखरेलले मूल्यवृद्धिले सर्वसाधारणको जीवन धान्नै नसक्ने अवस्थामा पुग्दा पनि सरकार हेर्ने आँखा, सुन्ने कान र अनुभूति गर्ने हृदय नभएझैं सरकारले गरिरहेको बताउनु भएको हो ।

उहाँले सबै बस्तुहरुको मूल्य चर्को हुँदा पनि सरकारले सात प्रतिशत मात्रै मूल्यवृद्धि भएको भनेर ढाँटने कुरा गरिरहेको आरोप लगाउनु भयो । सबै मूल्यवृद्धिको मुख्य कारण पेट्रोलियम पदार्थ भएको उल्लेख गर्दै सांसद पोखरेलले यसको व्यवस्थापन गर्न नसक्नु सरकारको कुशासन र भ्रष्टाचार नै भएको तर्क गर्नु भयो ।

उहाँले आयल निगमलाई खारेज गरेर सरकारले ठूलो कमिशन लिएर निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको जिम्मा लगाउने काम गर्न खोजिएको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।