काठमाडौं । नेकपा (एमाले) कास्कीले स्थानीय तह निर्वाचनमा अन्तर्घातको आरोपमा तीन जना पार्टी सदस्यलाई कारबाही गरेको छ ।
बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा पोखराको मेयरमा एमाले उम्मेदवार कृष्ण थापालाई हराउन भूमिका खेलेको आरोपमा कारबाही गरेको हो ।
एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरूङका अनुसार पोखरा महानगर वडा नम्बर २१ का संगठित सदस्य मनोज पहारी, वडा नम्बर ३३ का वडा कमिटी उपाध्यक्ष महेश अर्याल र वडा नम्बर ३३ कै संगठित सदस्य प्रशान्त आचार्यलाई कारबाही गरिएको छ । उनीहरुलाई जिम्मेवारीबाट मुक्त गरेर पार्टी साधारण सदस्यबाट निलम्बन गरेको जिल्ला अध्यक्ष गुरूङले जानकारी दिनुभयो ।
पार्टीका मेयर उम्मेदवार थापालाई हराएर गठबन्धन उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई जिताउन भूमिका खेलेको उनीहरूलाई आरोप छ । कारबाहीअघि उनीहरूसँग स्पष्टिकरण सोधिएको थियो ।
कारबाहीमा परेका व्यक्तिहरूले पार्टीका उम्मेदवार हराउन फोनवार्ता गरेको २ वटा अडिओ सार्वजनिक भएको थिए । उक्त अडिओमा एमाले उम्मेदवार थापालाई हराएर धनराजलाई जिताउने र त्यसका लागि आर्थिक मोलमोलाई समेत गरेको अडिओमा सुन्न सकिन्छ ।
थापालाई हराउँदा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, केन्द्रीय सचिव एवं गण्डकी इन्चार्ज पद्मा अर्याल, केन्द्रीय सदस्य राजिव पहारी लगायतले आफूहरूलाई कुनै कारबाही नगर्ने उनीहरूको फोनवार्तामा उल्लेख छ ।
उता, एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले उनीहरुलाई गरिएको कारबाहीबारे आफूलाई कुनै जानकारी नदिएको भन्दै अन्तर्घातका विषयमा गहन अध्यन नै नगरी अपरिपक्व निर्णय गरिएको प्रतिक्रिया दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्