काठमाडौं, साउन २८ । प्रतिनिधिसभाको सोमबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७५ पेस गरेका छन् ।
उक्त विधेयककाबारेमा उठेको प्रश्नको जवाफमा गृहमन्त्री थापाले खुला सिमाना नियमन गर्ने सन्दर्भमा भारतसँग छलफल भइरहेको जानकारी दिँदै विगतको सन्धि–सझौताका कारण जुन किसिमले नियमन गर्नुपर्ने हो, त्यो भइनरहेको बताए ।
उनले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेकका अरु अधिकार दिने ढंगबाट नागरिकताको प्रमाणपत्र प्रदान गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिए ।
यसअघि, नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५ लाई प्रस्तुत् गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत् गरेको विरोधको सूचना बहुमतले अस्वीकृत गरेको थियो ।
बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राहदानी विधेयक २०७५ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उपभोक्ता संरक्षण विधेयक, २०७५ सदनसमक्ष पेस गरे ।
यसअघि, उक्त विधेयक प्रस्तुत् गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले प्रस्तुत् गरेको विरोधको सूचनालाई सभाले बहुमतले अस्वीकार गरेको थियो ।
बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पनि निवृत्तभरण कोष विधेयक २०७५ प्रस्तुत् गरे ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य दिलेन्द्रप्रसाद बडूले सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७५ पेस गरे ।
त्यस्तै, उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक, २०७५ सदनसमक्ष प्रस्तुत् गरे ।
यसअघि, विधेयक प्रस्तुत् गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले प्रस्तुत् गरेको विरोधको सूचनालाई बैठकले अस्वीकार गरेको थियो ।
महासन्धि, सन्धि तथा सम्झौता
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि पेस गरे ।
गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागुऔषध कारोबारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिमाथि सामान्य छलफल गरियोस् भनी प्रस्तुत् गरेको प्रस्तावलाई सभाले स्वीकृत गर्यो ।
उक्त प्रस्तावबारे सांसदले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय आतंकवाद नियन्त्रण गर्नका लागि सूचना र सहयोग आदानप्रदान गर्ने महासन्धिको उद्देश्य भएको स्पस्ट गरे ।
प्रतिनिधिसभाको अर्काे बैठक यही साउन २९ गते अपराह्न १ बजे बस्नेछ । रासस









प्रतिक्रिया दिनुहोस्