काठमाडौं । भोलि सोमबारबाट काठमाडौं महानगरपालिकाको वागडोर सम्हाल्ने मेयर बालेन्द्र साहलाई उम्मेदवारीका क्रममा आफूले घोषणा गरेको काम पूरा गर्न दर्जनभन्दा बढी चुनौती देखिएको छ । तीमध्ये फोहोर व्यवस्थापन उहाँका लागि प्रमुख चुनौती हुनेछ । विजयी घोषणा भएलगत्तै शुक्रबार विजय जुलुसबाटै बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका मेयर बालेन्द्रले उपत्यकाको फोहोर व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको थियो । स्थानीय जनताले खादा र मालाले स्वागत गर्न खोज्दा अस्वीकार गरेका मेयर बालेन्द्रले दीर्घकालीन रूपमा फोहोरमैलाको समस्या हटेपछि मात्र जनताको सम्मान लिने बताउनभुएको थियो । फोहोरमैलाका कारण जनताले भोग्नुपरेको स्वास्थ्य समस्या समाधान गर्ने, व्यवस्थित रूपमा फोहोर विसर्जन गर्ने, स्थानीयको मागको सम्बोधन गर्ने आफ्नो प्राथमिकता रहेको बताउनुभएको थियो ।
झन्डै एक महिनाभन्दा बढी समय उठ्न नसकेको फोहोरमैलाको अहिलेसम्म समाधान हुन सकेको छैन । स्थानीयले बन्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध गरेका कारण फोहोर व्यवस्थापनमा समस्या छ । कामपा मात्रै होइन, ललितपुर उपमहानगरपालिकासहित उपत्यकाका १८ स्थानीय निकायको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन हुन थालेको छ ।मेयर साहको दोस्रो चुनौती जनताले पाउने सबै सेवा अनलाइनमार्फत गर्नुपर्ने देखिन्छ । कामपाले अनलाइन सेवा सञ्चालन त गरेको छ तर त्यसको राम्रोसँग व्यवस्थापन हुन सकेको छैन । युवाको मतबाट विजयी साहले कामपालाई हाइटेक बनाउने घोषणा गर्नुभएको छ । त्यसका लागि सबै वडालाई सूचनाप्रविधि मैत्री बनाउनुपर्ने चुनौती उहाँमाथि थपिएको छ ।
सबै सडकलाई उज्यालो बनाउने, सबै स्थानमा सीसीटिभी क्यामेरा जडान गर्ने प्रतिबद्धता जनाएका मेयरलाई गर्मीमा धुलाम्य र वर्षात्मा हिलाम्य हुने सडक व्यवस्थित गर्नुपर्ने चुनौती छ । त्यति मात्रै होइन, वर्षौदेखि चल्दै आएको टुक्रे योजना अन्त्य गर्नु पनि उहाँको लागि अर्को चुनौती हो । एउटा सडक पहिलोपटक आधा मात्र मर्मत, पिच वा ढलान गर्ने अनि अर्को वर्ष बाँकी आधा काम सकाउने गर्दा त्यसको गुणस्तरमा समस्या देखिने गरेकाले सडकको गुणस्तरको बारेमा छुट्टै अनुगमन टोली बनाउनु आवश्यक छ । त्यस्तै, कर्मचारीलाई तालिम दिने, लामो समयदेखि करार वा अस्थायी रूपमा काम गरेका कर्मचारीको उचित व्यवस्थापन गर्ने, कार्यालय समयलाई कडाइका साथ पालना गराउने, कामको आधारमा पुरस्कार र दण्डको व्यवस्था गर्नुपर्नेलगायतका काम पनि उहाँले काँधमा थपिएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्