
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलगायत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् । संसद्मा शनिबार जवाफ दिन उभिएका प्रधानमन्त्री देउवाले त्यस क्रममा कतिपय प्रश्न भने प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री ओलीमाथि नै तेस्र्याएका छन् । संसद्मा बिहीबार ३ घण्टा बोलेका ओलीले त्यस क्रममा नीति तथा कार्यक्रमलाई लिएर सरकारको चर्को आलोचना गरेका थिए । त्यस क्रममा उनले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन किन नबुझेको भन्दै सरकारमाथि प्रश्न गरेका थिए ।
शनिबार जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले उल्टै निवर्तमान प्रधानमन्त्री ओलीमाथि प्रश्न गरे । ‘ईपीजी प्रतिवेदन तीन वर्ष पहिले नै बनेको हो, त्यतिबेला किन नबुझेको ?’ प्रधानमन्त्रीको भनाइ थियो । तीन वर्षअघि ओली नै प्रधानमन्त्री थिए । देउवा प्रधानमन्त्री भएको एक वर्ष पनि भएको छैन । उनी असार अन्तिममा प्रधानमन्त्री बनेका हुन् । ईपीजी प्रतिवेदन सन् २०१९ मा तयार भएको थियो । प्रधानमन्त्री देउवाले थपे, ‘प्रबुद्ध समूहको प्रतिवेदन तीन वर्षपहिले नै तयार भएको सबैलाई थाहा छ । त्यो प्रतिवेदन त्यतिबेला नै बुझ्नुपथ्र्यो, किन बुझिएन ?’
प्रधानमन्त्री देउवाले प्रतिवेदन बुझ्ने वातावरण बनाउन सरकार लागिरहेको समेत बताएका छन् । ‘तथापि उक्त प्रतिवेदन बुझ्ने वातावरण बनाउने सरकार निरन्तर क्रियाशील छ,’ प्रधानमन्त्रीले भने । सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले कूटनीति सम्बन्धमा पर्याप्त सावधानी अपनाउनुपर्ने बताए । नेपाल सरकार एक चीन नीतिप्रति स्पष्ट रहेको, विगतमा चीनविरोधीलाई आफ्नै सरकारको पालामा प्रतिबन्ध लगाएको र छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन सरकार प्रतिबद्ध रहेकोसमेत बताए । नीति तथा कार्यक्रमप्रति आफ्नो धारणा राख्ने क्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले कालापानीलगायत भारतले मिचेका भूमि फिर्ता ल्याउने विषय नराखेको भन्दै सरकारको आलोचना गरेका थिए । उनले ती भूमि नेपाली हुन् कि होइनन् भनेर प्रधानमन्त्रीमाथि प्रश्न गरेका थिए ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्