गणतन्त्रको १५ वर्ष न पछुतो न हर्ष « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


गणतन्त्रको १५ वर्ष न पछुतो न हर्ष

गणतन्त्रको डेढ दशक समीक्षा

65
Shares

काठमाडौं । दुई सय ४० वर्ष लामो शाह वंशको शासन अन्त्य गरी नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरिएको आज १४ वर्ष पूरा भएको छ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य भएको घोषणा गरेपछि १८२५ सालमा काठमाडौंमाथि विजय हासिल गरेर एकीकृत नेपालका राजा बनेका पृथ्वीनारायण शाहका वंशजको राजगद्दी विधिवत् खोसिएको हो ।

राजतन्त्रको अन्त्यलाई नेपालका राजनीतिक दलहरूले सामन्तवादी युग समाप्त भएको भन्दै प्रसन्नता व्यक्त गरे । योग्यता र क्षमतालाई मान्यता नदिने जन्मको आधारमा शासक हुने व्यवस्था सामन्तवादकै परिचायक हो । पितृसत्तात्मक शासन व्यवस्थाको धरोहरका रूपमा पनि राजतन्त्र रहेको थियो, शासक हुन राजाको जेठो छोरालाई मात्र अधिकार हुने व्यवस्थालाई फालिएकोमा लैङ्गिक समानताका पक्षपाति पनि प्रसन्न भए । पछि नेपालको संविधान, २०७२ ले लैङ्गिक समानता र सामाजिक सहभागिताको प्रावधान राखेपछि कानुनतः मुलुक प्रगतिशीलता तथा लोकतान्त्रिक अभ्यासमा अघि बढेको प्रस्ट देखियो ।

संविधानका दर्जनौं प्रावधानले मुलुकले अग्रगामी छलाङ मारेको प्रष्ट देखाउँछ । केन्द्रीकृत र एकात्मक शासन व्यवस्थालाई अन्त्य गरी धारा ५६ ले राज्यको संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको बनाएको छ । तीनै तहलाई संविधान तथा ऐनले अधिकार सम्पन्न बनाएका छन् । समतामूलक समाज र सामाजिक रूपान्तरणलाई धारा–धारामा समेट्ने प्रयास भएको छ ।धारा ७४ ले शासकीय स्वरूपका विषयमा उल्लेख गर्दै बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हुनेछ भनेको छ । धारा ७५ ले नेपालको कार्यकारिणी अधिकार संविधान र कानून बमोजिम मन्त्रिपरिषद्मा निहित हुने व्यवस्था गरेको छ । राजतन्त्रमा जस्तो राजाको मातहतमा रहेर सरकारले काम गर्नुपने अवस्था पूर्णतः हटेको छ । संविधानतः नेपाली नागरिक आफैले मतदान गरेका जनप्रतिनिधिबाट शासित हुने विश्वकै सुन्दर र प्रगतिशील व्यवस्थामा छन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।