Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


विमानस्थल भन्सारका टेक्निसियन ढकालको अस्वाभाविक आयस्रोत, अदालतमा आरोपपत्र दायर


0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक्स–रे टेक्निसियन राजकुमार ढकालविरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

निजको जीवनयापन स्तर आयस्रोतभन्दा उच्च देखिएको, उनको नाममा रहेको विभिन्न बैंक खाताबाट अस्वाभाविकरुपमा आयस्रोतभन्दा बढी रकम चेकमार्फत सापटी दिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

निजको दुई करोड दुई हजार ८८६ रुपैयाँ ६५ पैसा सम्पत्तिको वैध स्रोत खुल्न नसकेको आयोगले जनाएको छ ।

टेक्निसियन ढकालले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी आफ्नो, श्रीमती निरजरा घिमिरे र राममणि लामिछानेको नाममा चलअचल सम्पत्ति लुकाई राखेको पाइएको छ ।

निज ढकाललाई बिगो स्रोत नखुलेको रकमबराबरको बिगो माग दाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यसैगरी आयोगले आयातीत सामानको न्यून मूल्याङ्कन गरी नेपाल सरकारलाई प्राप्त हुने राजश्वमा हानि पुर्‍याएको आरोपमा मेची भन्सार कार्यालय काँकडभिट्टाका तत्कालीन भन्सार अधिकृत मनोजकुमार विक र जाँचकी नायब सुब्बा सनद खतिवडासहित सामान आयातकर्ताविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

खउनीहरुविरुद्ध ५५ लाख १० हजार ५९६ रुपैयाँ ३३ पैसा बिगो माग गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।