Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


सत्ता गठबन्धन फुटाउने एमाले दाउ


10k
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचनपछि प्रमुख प्रतिपक्षी दल एमाले पाँचदलीय सत्ता गठबन्धन फुटाउने खेलमा लागेको छ।

निर्वाचनमा एकअर्काप्रति भएको असहयोगलगायत विषयलाई लिएर सत्तारूढ दलहरूमा असन्तुष्टि प्रकट भइरहेका बेला एमाले यस्तो दाउमा लागेको हो। सुरुमा गठबन्धनको एक दल जनता समाजवादी पार्टी (जसपा) लाई सत्ता गठबन्धनबाट अलग बनाएर सरकारलाई प्रहार गर्ने प्रयासमा एमाले छ। यसैक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटघाटसमेत भइसकेको छ ।

जसपा नेताहरूले स्थानीय निर्वाचनमा आफ्नो पार्टीलाई सत्तारूढ गठबन्धनकै प्रमुख घटक कांग्रेसले धोका दिएको निष्कर्ष निकालेका छन्। जसपाले कांग्रेसबाट बढी धोका पाएको महसुस गरेका बेला बुधबार ओली र यादवबीच भेटघाट भएको हो।

कांग्रेस र माओवादी केन्द्रले धोका दिँदा जसपाले स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेको भन्दै ओलीले यादवसमक्ष सत्ताबाट अलग्गिएर एमालेसँग सहकार्यका लागि प्रस्ताव गरेका छन्। एमालेले अहिले सत्ता घटकभित्रका असन्तुष्ट पक्षसँग सहकार्य गर्ने नीति लिएको छ। यसै नीतिअन्तर्गत एमाले र जसपा अध्यक्ष यादवबीच कुराकानी अघि बढेको हो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।