दैलेखमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ३४ जना घाइते « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


दैलेखमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ३४ जना घाइते

घाइते सबैको अवस्था गम्भीर, उद्धारका लागि एम्बुलेन्स अभाव

559
Shares

दैलेख । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका-१ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् ।

कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस सिस्नेमा दुर्घटनामा परेको दैलेखको घटनास्थलबाटै आठबिस नगरपालिकाका पूर्व नगरप्रमुख खड्गराज उपाध्यायले जानकारी दिनुभयो ।

‘दुर्घटना भएको बस कर्णाली नदीको तिरमा छ, छतमा र बसको कोलियामा समेत मानिसहरू थिए,’ उहाँले भन्नुभयो, ‘बसभित्रबाट घाइतेहरू निकाल्दै छौं, चार जनाको मृत्यु भएको छ ।’

रातिको समय भएकाले उद्धारमा समस्या भएको उहाँले बताउनुभयाे ।

उद्धारका लागि घटनास्थलमा प्रहरी पुगिसकेको छ । अहिले प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् ।

घाइते सबैको अवस्था गम्भीर रहेको र एम्बुलेन्स पनि अभाव भएको उपाध्यायले बताउनुभयाे । हेलिकप्टरबाट उद्धार गर्न सके धेरैको ज्यान जोगाउन सकिने उहाँको भनाइ छ ।

उद्धारका कामलाई प्रभावकारी बनाउन सुरक्षा निकायको चार वटा टोली खटाएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो ।

दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले दैलेख, दुल्लु, आठबिस र तल्लो डुँगेश्वरबाट उद्धारका लागि टोली पठाएको बताउनुभयो ।