२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


संक्रमित मुलुकबाट नेपाल आउनेलाई क्वारेन्टिन ?


6.24k
Shares

काठमाडौं । विश्वमा फैलिएको बाँदरेखटिरा (मंकीपक्स) को संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ।अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्विडेनलगायत १५ वटा देशमा मंकीपक्सको संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पुष्टि गरेसँगै नेपाल सरकारले पनि सचेतनाका लागि आग्रह गर्दै स्वास्थ्य सुरक्षा अपनाउन आह्वान गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स संक्रमण फैलिएका मुलुकबाट नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकहरूलाई कोभिड– १९ मा जस्तै दुई हप्ता क्वारेन्टिन बस्नुपर्ने नियम लागु गर्न आग्रह गरेको छ ।मंकीपक्स संक्रमण भएका व्यक्तिमा शरीरमा चिलाउने खटिरा वा दाग देखिने र जिउभरि फैलिने हुन्छ । यसमा ज्वरो आउने, जीउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्नेगर्छ । संक्रमण भएको केही दिनमा अनुहारमा पनि बिमिराहरू देखापर्न थाल्छन् । डब्लूएचओले जनाएअनुसार मंकीपक्स झट्ट हेर्दा फोहोर खटिरा वा ठेउला भनेर चिनिने गरेको रोगजस्तै देखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता सागर अधिकारीले जानकारी गराउनुभयो ।

डब्लूएचओका अनुसार मंकीपक्स भाइरस एकबाट अर्को व्यक्तिमा घाउको रस वा कणबाट र हाच्छिउँ गर्दा निस्कने थुकलगायतका तरल पदार्थका माध्यमबाट फैलिने गर्दछ । संक्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थ श्वासनली, आँखा, मुख वा नाकबाट छिर्नसक्ने जनाइएको छ । त्यस्तै, संक्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो भाइरस सर्नसक्छ । संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्नसक्ने डब्लूएचओले जनाएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।