
काठमाडौं । काठमाडौं महानगरपालिकाको जनप्रतिनिधिको पदावधि सकिँदै गएपछि राजधानीमा फोहोरमैला असरल्ल रूपमा सडकमै यत्रतत्र थुप्रिँदै आइरहेको छ। काठमाडौं महानगरमा गत फागुनदेखि हालसम्म ५० दिनभन्दा धेरै समय फोहोरमैला सडकमै यत्रतत्र थुपिँदै आएको हो। यही जेठ ५ मा आधिकारिक रूपमा जनप्रतिनिधि रिक्त भएसँगै संघीय राजधानीसमेत रहेको काठमाडौंका सडक, गल्ली र चोकचोकमा असरल्ल फोहोरमैला थुप्रिएर दुर्गन्ध बढ्न थालेको छ।
महानगरको कर्मचारी संयन्त्रले फोहोरमैला नियमित रूपमा उठाउन नसकेपछि राजधानीको फोहोर फ्याँक्न प्रहरीलाई समेत गुहार्नुपरेको छ। संघीय राजधानी काठमाडौं महानगरमा दुई सातादेखि सडकमै असरल्ल रूपमा फोहोरमैला थुप्रिए पनि जनप्रतिनिधिको अभावमा कर्मचारीतन्त्र फोहोरमैला उठाउन असफल देखिएको हो। सहरी विकास मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा फोहोरमैला व्यवस्थापनमा सहजीकरण गर्न लिखित रूपमा अनुरोध गरेको छ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले फोहोरमैला व्यवस्थापनमा कुनै अवरोध आएको खण्डमा प्रहरी परिचालन गरेर भए पनि व्यवस्थापन गर्ने तयारी भइरहेको बताए। ‘फोहोरमैला व्यवस्थापनमा सोमबार कुनै अवरोध आएको छैन,’ उनले नागरिकसँग भने, ‘अवरोध हुने कुनै संकेत पाएको खण्डमा रातिबाटै हामीले सुरक्षाकर्मी परिचालन गरेरै भए पनि फोहोरमैला व्यवस्थापनमा सघाउनेछौं।’ ल्यान्डफिल्ड साइट इन्जिनियर सरकारदीप श्रेष्ठले वर्षात्को पानीका कारण फोहोरमैला ल्यान्डफिल्ड साइटमा लैजान समस्या भइरहेको बताए। ‘तिनपिप्ले–मुड्खु खण्ड अवरोधका कारणले रोकिएको फोहोरमैला अहिलेसम्म पनि समस्या भइरहेको छ,’ उनले भने, ‘चुनावअघि रोकिए पनि अहिले त्यस्तो छैन।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्