बालेन : नायक कि खलनायक ? « Imagekhabar – Online News Portal of Nepal
२२ श्रावण २०७९, आईतवार | Mon Aug 8 2022


बालेन : नायक कि खलनायक ?


572
Shares

‘जोसँग सत्य छ त्यो एक्लै भए पनि बहुमतमा हुन्छ’ भन्ने डगलस एडम्सको यो महान् भनाइबाट यतिखेर स्थानीय तहको निर्वाचनका मत परिणामहरू सार्वजनिक भइरहँदा मुलुकमा के सत्य वर्तिन्छ भने मानिस आफूले बुझेको सत्यमा अडिन सक्यो भने मात्र उसले संसारलाई आफ्नो अभिमतमा राख्न सक्दो रहेछ ।

सत्य एउटै हुन्छ तर त्यसलाई पुष्टि गर्ने एङ्गलहरू पृथक्पृथक् हुन सक्छन् । यो भनाइ अहिले सर्वाधिक चर्चित रहेका काठमाडौँ महानगरपालिकाका मेयर पदका उम्मेदवार बालेन शाहको हकमा केही प्रतिशत लागु हुन्छ ।‘बालेन शाहले नजित्न पर्ने हो । जिते भने आकाश खसेझैँ होला । यिनी अर्को नानीमैयाँ पो हुने हुन् कि ?’ –रिटायर्ड शिक्षक विश्वराज ढुङ्गाना हाकाहाकी यसो भन्छन् । यो अभिव्यक्तिले साठी प्लसका जेष्ठ नागरिकहरूको मानसिकतालाई खर्लप्पै बोकेको छ । ढुङ्गाना सरको कुरो आंशिक सत्य हो तर पूर्ण सत्य नहुन सक्छ । भोलि बालेनले कथम् महानगरको मेयर हुने सौभाग्य पाए भने अहिले नै उनीप्रति नानीमैया दहालसँग लगेर तुलना गरिएका भाष्यहरुका अन्तर्यमै खोट देखिने दिन नआऊलान् भन्न सकिन्नँ ।

‘धेरै ठाउँमा स्वतन्त्रले जितेको÷अगाडि भएको देख्दा पछिपछिका चुनावमा स्वतन्त्र उम्मेदवारहरूका विरुद्ध नै नेपालमा दलीय गठबन्धन हुन बेर छैन ।’ चर्चित लेखक कृष्ण अविरल आफ्नो विचार पोख्छन् ।उनी अझअघि लेख्छन् –‘गठबन्धनको घेराबन्दीका बीच पनि एमाले दोस्रो ठूलो दल बन्दैछ । काठमाडौँ, ललितपुर, विराटनगर, पोखरा, इटहरीसहितका धेरै ठाउँमा उपमेयरमा उसका उम्मेदवार अगाडि छन् । उसको जनाधारलाई कम आँक्न मिल्ने देखिएन ।

चुनावी दौरान केपी शर्मा ओलीको सक्रियता साँच्चिकै लोभलाग्दो थियो । उनी जहाँ जान्थे राम्रै भीड जम्मा भएको देखिन्थ्यो । प्रचण्ड, माधव कुमार नेपाल, गगन, विश्वप्रकाश, प्रकाश शरणदेखि सबका सब विरोधीलाई उद्भट् शैलीमा जवाफ फर्काउन सक्ने ल्याकत राख्नु ओलीको विशिष्ट खुबी हो । बोलीमा छुद्रपन, अशिष्ट र लोभीपापीहरूको घेराबन्दीमा रमाउनु उनका कमजोरीहरू हुन् । यो चुनावपछि भन्न मन लाग्यो –देशका अलि भन्न मिल्ने राजनेता उनी मात्रै रहेछन् । उनका अगाडि अरू सब बाउन्ने देखिए अनि एमाले सतिसाल नै रहेछ ।’ लभगभ स्वट एनालाइसिस शैलीमा अविरलले गरेको यो परमूल्याङ्कनले एमालेको आन्द्राभुँडी त छामेको छ नै पूरै देशको राजनीतिको चटनी बनाएर हाम्रा सामु चट्ट पेस गरेको छ ।

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालालाई काँग्रेस सभापति शेरबहादुर देउवाले गरेको गठबन्धनको राजनीति फिटिक्कै चित्त बुझेको छैन । उनले प्वाक्कै भनिहालेछन् –‘एक्लै लडेको भए अहिलेभन्दा झन् धेरै सिट काँग्रेसको आउने थियो । पहिलो पार्टी काँग्रेस भए पनि मतका आधारमा दोस्रो देखियो । यो नेतृत्वको गलत सोच हो ।’ उनको भनाइ काँग्रेस भित्र प्रतिपक्षीको भूमिका निर्वाह गर्दै गर्दा एक मानेमा ठिक होला रे तर पूर्ण सत्य भनेको यो पाँचदलीय गठाबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओली अहम्लाई मटिमामेट पार्नै खोजेको हो जुन पारेको पनि छ ।

राजधानीकै प्रभावशाली एमाले नेता रामवीर मानन्धर भन्दै थिए –‘स्थानीय चुनावमा एमालेलाई विपक्षीहरुले साइजमा ल्याए साथै यसको असर आगामी राष्ट्रिय सभा चुनावमा एमाले ‘क्लिन स्वीप’ हुने डर देखियो ।’ यो भनेको नेतृत्वको दादागिरी हो । काठमाडौँमा केशव स्थापित कार्ड टिकट वितरणका अन्तिम दिनमा जसरी एमालेले फेक्यों त्यसले उपत्यकाका धेरै निष्ठावान् कार्यकर्ताहरुलाई इरिटेड बनायो । ओलीको देवत्वकरण जनताले मन नपराउनु, स्वार्थमा लिप्त भएर नेकपा विनाकारण फुट्नु र अझ एमालेसमेत चोइटिएर समाजवादी बनेको यो परिवेशमा एमालेले चुनावमा धूलो चाट्नु सर्वथा नौलो होइन तर एमाले नेता प्रदीप ज्ञवालीका शब्दमा ‘हामी फेरि धुलो टक्टक्याएर उठ्नेछौं’ मा चाहिँ आसाका किरणहरु भेटिन्छन् ।

अबको राजनीतिमा युवाहरूलाई सम्मानजनक स्थान दिइएन भने काठमाडौँले जुन शैलीमा युवा बालेन शाहलाई जबर्जस्त प्रस्तुत गरेर देखाएको छ । त्यसको सिको लगभग देशैभरि हुने निश्चितै देखियो जसले युवा असन्तुष्टिको सो सुनामीले स्थापित व्यक्ति मात्र नभएर पार्टीहरूलाई समेत विस्थापित गर्ने औकात राख्न खोज्दैछ । धेरैले के बुझेका छैनन् भने समयले बालेनलाई अधि सारेर युवा विद्रोहको नायक बनाउन लाग्दैछ । मिस युज भएनन् भने उनी भोलिको समयका लागि नायक हुनेछन् नत्र पञ्चायती कुपात्रहरूझैँ उनले पनि खलनायकीको बिल्ला भिनु पर्ने हुन्छ । त्यसका लागि मतपरिणाम मात्र नभएर उनले महानगर ड्राइभ गरेको केही समय कुर्नै पर्ने भयो ।

सन्निकट संघ र प्रदेशका चुनावमा रमाइलो त त्यसबेला हुनेछ जब देशैभरि स्वतन्त्रहरूले आफूलाई विधायकमा उठाउने छन् र ती स्वतन्त्रका विरुद्ध पार्टीहरूले एकाएक गठबन्धन गर्नुपर्ने तितो अवस्था आउने छ । स्वतन्त्र उम्मेदवारहरूले स्थानीय तहमै विभिन्न पालिकाहरूमा प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएर लोकप्रियता कमाउनुका पछाडि यसपटक सत्तासीन पाँचदलीय गठबन्धन र एमालेको चारदलीय गठबन्धनको नाकमै दम तोडिदिएका छन् ।

स्ट्रक्चरल इन्जिनियर बालेन्द्र शाह उर्फ बालेन ‘नो भोट’ र तमाम राजनीतिक विकृतिका विरुद्ध आम युवा नायक हो । काठमाडौँले बालेनलाई अघि सारेर राजधानी निर्माणको नूतन शैलीमा विद्रोहको बाटो खोज्दै हो कि भन्ने भान यतिखेर आम नागरिकहरुमा भएको छ ।

र्‍यापर बालेनका पक्षमा देखिएको या आरिशलाग्दो आकर्षणले एकातिर काठमाडौँको रैथाने संरचनामा आएको परिवर्तनको सङ्केत दिन्छ भने अर्कातिर राजनीतिक दलहरूप्रति आमजनताको आकर्षणमा आएको ह्रासलाई पनि इङ्गित गर्छ ।’ –नाट्यकर्मी तथा लेखक रोशन जनकपुरी सौम्य विश्लेषणका तराजुमा वालेनलाई यसरी नै जोख्छन् ।

चुनावको नतिजाको सङ्केतलाई अधार मान्दै विश्लेषक डम्मर खतिवडा लेख्छन् –‘कसैका अहङ्कार पुष्टि भएनन, तुष्टिकरण मात्रै भए । न गठबन्धनको भव्य स्वागत् न ओलीज्मको जनअनुमोदन, न दक्षिणपन्थको उल्लेख्य विकास, न भर्भराउँदा वैकल्पिकहरू । दलहरू र नेतृत्वको कार्यशैली र जनताको अपेक्षाबीच गहिरो खाडल छ भन्ने फेरि पुष्टि भयो । अग्रज र हाम्रो पुस्ताले दलीय लोकतन्त्रका लागि सम्वत् १९९० यता करिब ९० वर्ष लामो सङ्घर्ष गर्‍यो, तर मतदाता दलहरूलाई किन घृणा गर्दै स्वतन्त्र खोज्दैछन् ? यसरी लोकतन्त्र कतिन्जेल बाँच्न सक्ला ? यो पाटोबाट बहस जरूरी देखियो ।’

नेतृत्व तहबाटै यसरी विश्लेषण गरिए पनि स्वतन्त्र भनिने मतदाताहरूले जुनसुकै पार्टीका झोले कार्यकर्ता भई मत हाल्ने संस्कारको एकातिर समूल अन्त्य हुनुपर्छ पनि भन्ने अनि अर्कातिर मतदाताले हिजोका नालायक र आजका विवादास्पद उम्मेदवारहरू विरुद्ध विरोधस्वरूप नयाँ, काबिल, होनहार, प्रविधिमैत्री र विकासप्रेमी स्वतन्त्र उम्मेदवारहरूलाई मन पराउँदा किन कसैको टाउको दुख्छ ? किन कसैको घाँटी खस्खसाउँछ ? र किन कसैको नेत्र बल्छ ? यी प्रश्नहरूको सार्थक उत्तर अहिलेका नेताहरूले दिन सक्लान् ?

विश्वका धेरै देशका निर्वाचनबाट हामीले यो पाठ सिक्नु जरुरी छ कि बेलाबेलामा विश्व निर्वाचनमा अनेक खाले उटाङ् र डरलाग्दा प्रयोगहरू भएका छन् । एकपटक ब्राजिलमा त्यहाँका सबै राजनीतिक पार्टी र स्वतन्त्र उम्मेदवारका विरुद्ध मतदाताले मजाक मजाकमा उठाएको एउटा कुकुरलाई अत्यधिक मत दिएर मेयरमा जिताए र सो कुकुरले पाँच वर्ष आफ्नो प्रतिनिधिबाट शासन गरेको थियो । यो भनेको मानवता विरुद्धकै विद्रोह हो ।

अहिले नेपालमा जति राजनीतिक फन्डाहरू देखिए ती सबमा जनता दिक्क वाक्क भए । प्रचण्डले छोरी रेनुले नजिते गणतन्त्रै धरापमा पर्छ भन्नु, आरजूले काँग्रेसले जित्ने बाहेकका पालिकाहरुमा माथिबाट बजेट पठाउन सकिँदैन भन्दै उड्किनु, रत्नपार्कको मुकुन्द घिमिरे उर्फ मुकुन्दे र पुण्य गौतम प्रवृत्तिको डेस्टिनेसन कहाँ रहेछ भन्ने कुरा जनताले थाहा पाइसके अनि चुनावी परिणामलाई हेर्दा नै थाहा पाइयो कि राप्रपामा ८० प्रतिशत मानिसहरू रेखा थापालाई हेर्न भनेर मात्र गएका रहेछन् ।

ज्ञानेन्द्र शाहीजस्ता भविष्यमा केही गर्लान् भन्ने सोच राखेका सुरुवाती विद्रोही युवा राप्रपामा समाहित हुनु र विवेकशील साझाले ‘विचारभन्दा माथि देश’ भन्ने अभिमत राख्दै आफूलाई वैकल्पिक शक्तिका रूपमा अघि बढाउँदा जनताले वैकल्पिक शक्तिको खोल ओढेर उदाउँदै गरेका नेता रवीन्द्र मिश्रसमेत राजावादी भैदिनाले यतिखेर देशभित्र र देशबाहिर रहेका लाखौंलाख युवाहरूको मन कुँडिएको छ ।

बालेन शाह मात्र होइन पोखराका अटेरी अभियानका सञ्चालक गनेश पौडेल समेत भविष्यका युवाका आसका प्रतीक हुन सक्छन् । देशमा जब्बर रुपमा रहेका र पुरातन शैलीमा जनताको अभिमत विरुद्ध गई आफ्नो शासन चलाएर रमाउने ठालु पार्टीप्रति एकएक गर्दै यसरी नै विद्रोहका ज्वालाहरू बढ्दै जाने हो भने हजारौं जनताको वलिदान र लाखौंको खुनपसिनाबाट प्राप्त गणतन्त्रका बारे समेत बहस सुरु नहोला भन्न सकिन्नँ ।

हिजो ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नारासँगै जब ‘ढोकाढोकामा चन्द्र शमशेरहरू’ पालिकामा कृषि उत्पादन वृद्धि गर्नुको साटो उत्पादन नदिने भ्यु टावर निर्माणमा देखिए तब विदेशबाट खुन पेलेर रेमिट्यान्स बनाई पठाउने युवाहरूको मन रोएको थियो । आज गाउँलाई कृषि उत्पादनको हब बनाएर कृषिमा आत्मनिर्भर बनाउन सक्ने भए अहिले जेजति युवाहरू नेता, पार्टी र प्रवृत्तिका विरुद्धमा उभिए त्यसमा केही मत्थर हुन्थ्यो ।

युवालाई अहिले दर्शन कम र जीवन बाँच्ने दाउन बढी चाहिएको छ । त्यो दाउन कृषि, कुटीर उद्योग, ग्रामीण पर्यटन, सार्वजनिक सुलभ यातायात, सीपयुक्त सार्वजनिक शिक्षा र गतिलो स्वास्थ्य उपचार माध्यमबाट गाउँमै बस्ने÷रमाउने वातावरण निर्माणपछि हाम्रो अहिलेको लोकतान्त्रिक गणतन्त्र सर्वाधिक बलियो हुने थियो ।

तर यसले गतिलो पथ लेलाजस्तो नदेखेपछि भविष्यगामी युवाहरूले अहिले ठाउँको ठाउँ विद्रोह गरेका हुन् । यसमा बालेन शाहले जिते पनि हारे पनि व्यक्ति नभएर प्रवृत्ति हुनेछन् भन्ने धेरैको आङ्कलन छ । अतः यिनलाई अहिले नै नायक र खलनायकमा दर्‍याउनुभन्दा कम्तिमा काठमाडौँको अन्तिम मत परिणामलाई चाहिँ हामीले धैर्यतासाथ पर्खनै पर्ने हुन्छ ।

धरान र धनगढीमा चुनाव जित्ने हर्क साङ्पाङ् राई र गोपाल हमालको साहसले जनताबाट जुन रुपमा अनुमोदन हुने मौका पायो त्यो सर्वथा ग्राह्य छ । कतिपयले यी स्वतन्त्र उम्मेदवारहरूप्रति ‘एक्लैले जितेर केही हुनेछैन, पूरै कार्यपालिका विरोधमा भएपछि एक्लो वृहस्पति झूटा हुन्छ’ भन्ने खालका अनर्गल कुतर्कहरूको वर्षा गरिरहेका छन् । समाजमा एउटा क्षेत्रमा छवि बनाएर स्थापित भएका व्यक्तिले समेत नूतन सोचलाई किन यसरी हट्क गर्छन् अब भने यो खोजीको विषय भएको छ ।

यस्तो खाले चिन्तन नयाँलाई स्वीकार्नै नसक्ने सर्वसत्तावादी सोच हुन् । जुन सोचको अन्त्य नभई हाम्रो समाज एक पाइला अघि बढ्दैन । गणतन्त्र त दोस्रो कुरा भयो । टिकट बाँड्ने बेलाको भडाँस, उछलकुद्, ग्रुपइज्म र राम्रालाई होइन हाम्रालाई येनकेन प्रकारेण काखी च्याप्ने कुप्रवृत्तिका विरुद्ध जनताले ससाना मिसाइल मात्र हानेका हुन् । परिवेशै धूलोपिठो हुने गरी राजनीतिक क्षेप्याश्त्र पड्काउन त बाँकी नै छ ।