दुईपटक भन्दा बढी अवसर नपाउने कानूनी व्यवस्था गरौं : सांसद् देवकोटा « Imagekhabar – Online News Portal of Nepal
१७ असार २०७९, शुक्रबार | Fri Jul 1 2022


दुईपटक भन्दा बढी अवसर नपाउने कानूनी व्यवस्था गरौं : सांसद् देवकोटा

‘स्थानीय तहको निर्वाचन बैशाख तेस्रो साता हुने व्यवस्था गरौं’

6.487k
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले राज्यको कार्यकारी पदमा बसेका व्यक्तिले दुईपटक भन्दा बढी अवसर नपाउने व्यवस्था गर्न माग गर्नुभएको छ ।

सोमबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य देवकोटाले यसका लागि संविधान वा कानूनमै लेख्नुपर्ने बताउनुभयो ।

‘स्वतन्त्र उम्मेदवारको उदयका कारण नागरिकले परिवर्तन खोजेको आभाष भएको छ,’ उहाँले भन्नुभयो, ‘यो सम्मानित सदनमा एउटा प्रस्ताव गर्छु, सांसदसहित राज्यका कुनै पनि कार्यकारी पोजिशनमा लगातार दुईपटक भन्दा बढी अवसर नहुने, नपाउने व्यवस्था गरौं, यो संविधान वा कानूनमा कहाँ लेख्नुपर्ने हो लेखौं ।’

हरेक राजनीति गर्ने व्यक्तिले पटक–पटक पदमा पुग्ने लालसा नत्यागे हरेक पालिका स्वतन्त्र उम्मेदवारको उदय हुने उहाँको भनाइ छ ।

‘यहाँ त पटक–पटक सांसद भएका, पटक–पटक मन्त्री भएकाहरू फेरि मेयर र अध्यक्षमा पनि ताक्न थाले यो त अचम्मै भयो,’ उहाँले थप्नुभयो, ‘हामी सुध्रौं, सुध्रिएनौ भने हरेक पालिकामा बालेन, हर्क साम्पाङ र गोपाल हमालहरूको उदय हुनेछ ।’

देवकोटाले स्थानीय तहको निर्वाचनमा दलिय प्रभाव नहुनेगरी कानूनी र नितिगत सुधार गर्नुपर्ने बताउनुभयो ।

‘स्थानीय तहको चुनाव विल्कुल दलिय प्रभावबाट अलग हुनेगरी कानूनी र नीतिगत सुधार गरौं,’ उहाँले थप्नुभयो, ‘यसले स्थानीय सेवा प्रवाह र विकास निर्माण लगायतमा सहजता ल्याउँछ ।’

उहाँले स्थानीय तहको निर्वाचन कार्यकाल सकिने वर्षको बैशाखको तेस्रो साता हुने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

‘चुनावी मितिको अन्यौलताको अन्त्य गर्न कानूनमा लेख्नैपर्ने देख्छु मैले, पुरानो कानूनलाई अलिकति सुधार गरौं,’ देवकोटाले भन्नुभयो, ‘स्थानीय तहको चुनाव कार्यकाल सकिने वर्षको बैशाखको तेस्रो साता हुने व्यवस्था मिलाउँ । तेस्रो साता भित्र कुनै दिन तोक्ने जिम्मेवारी चाहीँ निर्वाचन आयोगलाई दिउँ ।’