Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


‘कानूनका छिद्र देखाएर बलात्कारका अपराधी उम्क्याउन हुँदैन’

‘बलात्कारीलाई आजीवन कैद वा मृत्युदण्ड किन गर्न नहुने ?’

91
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले देशमा महिला हिंसा र बलात्कारको घटना बढ्दै गएको बताउनु भएको छ । ।

सोमबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य राईले महिलाहरू कुनैपनि ठाउँमा सुरक्षित नभएको बताउनुभयो ।

अपराधीहरू कानूनी प्रावधानका कारण उम्किने खतरा रहेको औँल्याउँदै उहाँले कानूनी व्यवस्थालाई संशोधन गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रियसभा सदस्य राईले पछिल्लो समय बढिरहेको बलात्कार र हिंसाको घटनाले नेपाललाई सबैभन्दा बढी बालिका बलात्कृत हुने देश बनाउनेतर्फ सचेत गराउनुभयो ।

‘कानूनलाई पक्रेर अपराधी उम्किने अवस्था बनेको छ, प्रहरीले भनिरहेको छ कानूनी जटिलता बनिरहेको छ,’ उहाँले भन्नुभयो, ‘१६ वर्षमा घटेको घटनाको २४ वर्षमा उजुरी गरकाले कानूनी अप्ठ्यारो आएकाले अपराधीलाई माफी दिने कुरा कदापी स्वीकार्य हुँदैन, यो विषयमा राज्यको गम्भीर ध्यान जान जरुरी छ ।’

यस्तै अर्की राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले बलात्कारीलाई आजीवन कैदको माग गर्नुभयो । उहाँले बलात्कारीलाई किन आजीवन कैदनको व्यवस्था नभएको भनि सरकारसँग प्रशन गर्नुभयो ।

उहाँले बलात्कारीलाई हिरासतमा राखेर मात्रै पीडितले न्याय नपाउने भन्दै फाँसीको सजाय किन नहुने भन्ने प्रश्न गर्नुभयो । बलात्कारको उजुरी हाल्न एक वर्षको हदम्याद तोकिनु नहुनेमा उहाँले जोड दिनुभयो ।