२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रधानमन्त्री देउवा र अमेरिकी विशेष संयोजक जियाबीच भेटवार्ता


559
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र तिब्बत मामिलाका अमेरिकी विशेष संयोजक उज्रा जियाबीच आइतबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्रीसमेत रहनुभएकी जियाले नेपालमा रहेका तिब्बती शरणार्थी र समुदायको मानवअधिकारका विषयमा चासो व्यक्त गरेको जनाइएको छ ।

भेटमा नेपाल र अमेरिकाबीचको कूटनैतिक सम्बन्ध तथा द्धिपक्षीय आपसी हितका विषयमा छलफल भएको थियो । त्यस्तै प्रधानमन्त्री पत्नी डाक्टर आरजु राणा देउवा र जियाबीच पनि भेटवार्ता भएको छ ।

भेटमा महिला सशक्तिकरण, मानवअधिकार, जलवायु परिवर्तन, खाद्य संकट र अन्य विकासका मुद्दाहरुमा छलफल भएको छ । उपमन्त्री जियाले आजै परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र गृहमन्त्री बालकृष्ण खाँडसँग सिंहदरबारमा भेट गर्नुभयो ।

जियाले शनिबार काठमाडौंमा रहेका तिब्बती शरणार्थी र समुदायसँग पनि भेटघाट र छलफल गर्नुभएको थियो । तिब्बतीहरुको मानवअधिकार, धार्मिक, भाषिक र सांस्कृतिक पहिचानका लागि पैरवी गर्ने जिम्मेवारी अमेरिकी सरकारले उहाँलाई दिएको छ ।

नेपाल आउनअघि उपमन्त्री जियाले निर्वासित तिब्बती धर्म गुरु एवं नेता दलाई लामा, निवार्सित तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसहित अन्य उच्च प्रतिनिधिहरुसँग भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा भेट गर्नुभएको थियो ।