म्याग्दीका पालिका र वडामा महिला नेतृत्व शून्य « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Wed Jun 29 2022


म्याग्दीका पालिका र वडामा महिला नेतृत्व शून्य


91
Shares

काठमाडौं । म्याग्दीका गाउँपालिका, नगरपालिका र वडामा महिलाको नेतृत्व शून्य भएको छ ।

जिल्लाका छ वटा स्थानीय तह र ४५ वटा वडाको नेतृत्वमा सबै पुरुष उम्मेदवार निर्वाचित भएका हुन् । प्रमुख र अध्यक्ष पदमा सबै पुरुष निर्वाचित हुँदा उपाध्यक्षमा पाँच महिला र एक पुरुष उम्मेदवार विजयी भएका छन् ।

नगर र गाउँपालिकाको नेतृत्वका लागि तीन र वडाको नेतृत्वका लागि दुई महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । उनीहरू सबै पराजित हुँदा पालिका र वडाको नेतृत्वमा महिलाको उपस्थिति शून्य भएको हो ।

धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएकी थमसरा पुन कांग्रेसका प्रेमप्रसाद पुनसँग पराजित हुनुभयो ।

नेकपा (माओवादी केन्द्र)बाट रघुगङ्गा गाउँपालिका अध्यक्षको उम्मेदवार बन्नुभएकी मीना विश्वकर्मा तेस्रो बन्नुभयो । राप्रपाबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवार बन्नुभएकी मीनाकुमारी शर्मा चौथो बन्नुभयो ।

मङ्गला गाउँपालिकाको वडा नं ४ मा एमालेले लक्ष्मीकुमारी बुढाथोकी र माओवादी केन्द्रले मनमाया चोचाङ्गीलाई वडाध्यक्षको उम्मेदवार बनाएका थिए । कांग्रेसका लालबहादुर रोकाले दुुवै जनालाई पराजित गरेर वडाध्यक्षमा निर्वाचित हुनुभयो ।

स्थानीय तहको पहिलो कार्यकालमा धवलागिरिको अध्यक्षमा एमालेका थमसरा पुन, सोही पालिकाको वडा नं ५ मा कांग्रेसका खर्ककुमारी छन्त्याल र मालिका गाउँपालिका–५ को अध्यक्षमा कांग्रेसका पिपला बुढाथोकी वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।