बालेन क्रेज : भाञ्जाकाे मृत्युमा पनि सडक तताउँदै जनकवि बराल « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


बालेन क्रेज : भाञ्जाकाे मृत्युमा पनि सडक तताउँदै जनकवि बराल

सञ्जालमा अनेक मिम र गीत, गणनास्थल बाहिर रोचक नारा

1.287k
Shares

काठमाडौं । स्थानीय तहको चुनावमा सिंगो देशको ध्यान खिच्न सफल उम्मेदवार हुन काठमाडाैं महानगरपलिाकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह ।

उम्मेदवारी दर्ता अघिदेखि चर्चामा रहेका शाहले मत गणनामा पनि मूख्य दावेदार उम्मेदवारहरूलाई निकै पछाडि छाड्दै गएपछि उनको चर्चा चुलिएको छ ।

शाहका बारेमा सामाजिक सञ्जालमा अनगिन्ती मिम बनेका छन् भने गीत र नारा पनि उसैगरी बनाइएका छन् । मत गणनास्थल राष्ट्रिय सभा गृह अगाडि हरेक दिन उभिने उनका समर्थकले लगाउने नारा पनि उत्तिकै रोचक छन् ।

एक सातादेखि मतगणना भइरहेको राष्ट्रिय सभागृह अगाडिको सडकमा हरेक दिन बालेन शाहका समर्थकहरू उत्साहका साथ उत्सव मनाइरहेका छन् ।

कतिपय हरेक दिन यहाँ आउनेहरू पनि छन् त, कतिपय यहाँको रौनक हेर्न आउनेहरू पनि । तर, समर्थकहरूले यहाँ लगाउने थरी–थरीका नारा भने निकै रोचक छन् ।

त्यसो त नारा लगाउने युवा समर्थक मात्रै यहाँ आउँदैनन् । कविता, मुक्तक र ब्यंग्यकारहरू पनि सडकमा आएर रौनकता बढाउने गर्दछन् ।

त्यस्तै मध्येका हुनुहुन्छ जनकविको रूपमा चिनिने भोलाराज बराल । आफ्नाे परिवार शोकको घडीमा रहे पनि बालेन शाहको समर्थनमा आफू सडकमा आएको उहाँ बताउनुहुन्छ ।

‘मेरो भाञ्जाको मृत्यु भएर आर्यघाट लैजाने क्रममा छन्,’ उहाँ भन्नुहुन्छ, ‘तर पनि मलाई यहाँ नआई चित्त बुझेन, युवालाई ऊर्जा दिन म यहाँ दिनकै आइरहेको छु ।’

जेठको घाम र छिन भरमै हुने वर्षाको बेवास्ता गर्दै हरेक तह र तप्काका मानिसहरू दिनहुँ बालेन शाहको समर्थनमा सभागृह अगाडिको सडकमा धाउने गरेका छन् ।

एक जना युवाले महानगरको प्रमुख पदमा लिएको अग्रतामा झुमेका यी सर्वसाधारणको उत्साहले मानिसहरूमा परिवर्तनको उत्कट चाहना कति रहेछ भन्ने बुझ्न पर्याप्त छ ।