
दाङ,चैत २८ । दाङ र आसपासका जिल्लामा लकडाउनको मौका छोपी वनमा चोरीतस्करीका घटना बढेका छन् ।
तस्करले जिल्लाका बजारदेखि टाढा रहेका वन क्षेत्रमा गएर काठ चोरी गरेका छन् । जिम्मेवार तहका व्यक्ति नै रुख फँडानीमा संलग्न रहेको पाइएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
यसपटक अधिकांश नयाँ ठाउँमा तस्करले काठ कटान गरेका छन् । कार्यालय प्रमुख दीपक ज्ञवालीले बन्दाबन्दी शुरुभएदेखि हालसम्म छ वनका वन पैदावार चोरी तथा तस्करीका घटनामा १० जनालाई पक्राउ गरिएको बताए ।
पक्राउ परेकाहरुबाट सयौँ क्युफिट काठ, तीन ट्रयाक्टर तथा रुख काट्न प्रयोग गरिने औजार बरामद भएको छ । बरामद गरिएको काठ मुचुल्का तयार गरी सुरक्षितसाथ राखिएको प्रमुख ज्ञवालीले बताए ।
चोरीमा संलग्नको विस्तृत विवरण केही दिनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ । लकडाउन अवधिमा बढेको काठ तस्करी, चोरी निकासी र वन्यजन्तु शिकारका घटना बढन नदिन विभिन्न समूह बनाएर वन गस्ती शुरु गरिएको कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्