Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


‘लकडाउन’लाई प्रभावकारी र व्यवस्थित बनाउन वडा र क्लबहरु सक्रिय


0
Shares

नरेन्द्र मानन्धर (इमेज)

काठमाडौं, चैत २७ । सरकारले लागू गरेको ‘लकडाउन’ प्रभावकारी नभएको भन्दै काठमाडौंका स्थानीयहरु नै जागरुक हुन थालेका छन् ।

भित्री सहरका बासिन्दाहरु एउटा टोल र वडाबाट अर्को टोल वा वडामा प्रवेश निषेधको अभियानमा जुटेका छन् ।

लकडाउनको बेवास्ता गर्दै घरबाहिर आउनेहरुलाई रोक्ने स्थानीयबासीको प्रयास । उनीहरुले स्थानीयहरुलाई घरबाहिर ननिस्कन आग्रह गरिरहेका छन् भने एउटा टोलबाट अर्कोमा नजान पनि आग्रह गरिरहेका छन् ।

काठमाडौं महानगरपालिकाअन्तर्गत् २२, २५ र २७ का बासिन्दाले यो अभियान चलाएका छन् । जसमा स्थानीय क्लब र वडाले नेतृत्वदायी भूमिका खेलिरहेका छन् ।

टेबहालस्थित संकटा क्लबका सदस्य विजयरत्न सिख्राकार कोरोनाभाइरस संक्रमणबाट बच्न मन नपरे पनि यो कार्य आवश्यक भएको बताउँछन् ।

वडासदस्य चन्द्रमान तुलाधर यो अन्य ठाउँमा पनि लागू गर्नुपर्ने बताउँछन् । सचेतना आवश्यक भएको उनको भनाइ छ ।

क्लब र वडाले स्थानीय बासिन्दाको सुविधाका लागि बिहान–बेलुका दैनिक आवश्यक खाद्यान्न र तरकारीको पनि व्यवस्था गर्दै आएका छन । यो कार्य स्वागतयोग्य छ । तर, संवेदनशील पनि उत्तिकै छ ।

असमझदारीप्रति सचेत भएर लकडाउन अवधिभर यस्तो कार्यलाई निरन्तरता दिन सके सबैको भलाइ हुनेमा शंका छैन ।