Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


एमालेविरुद्ध कांग्रेसका ४२ आरोप


156
Shares

काठमाडौं । नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले संविधान पूर्ण रूपमा कार्यान्वयन गर्नुको साटो दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाएको छ।स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले राजनीतिक स्थायित्व, संविधानको रक्षा र आर्थिक विकासका लागि नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई मतदान गर्न सबैमा अपिल गरेको छ।

ओलीले असंवैधानिक रूपमा दुईपटक गरिएको संसद् विघटनलाई सर्वोच्च अदालतले पुनस्र्थापना गरे पनि एमालेले अझै संसद् चल्न नदिएको जनाएको छ। संसद्लाई आफूले बन्धक बनाएर एमालेले कांग्रेसमाथि दोष थोपरेको आरोप लगाउँदै पार्टी प्रवक्ता प्रकाशशरण महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसद्लाई कांग्रेसले कहिल्यै बन्धक बनाएको छैन। बरु गत भदौदेखि नेकपा एमालेले संघीय संसदका प्रायः सबै बैठक अवरुद्ध गर्दै आएको छ। विगतमा पनि ५८ दिन संसद अवरोध गरेको घटना हामीले बिर्सेका छैनौं ।’

संघीय शासनप्रति एमालेको प्रतिबद्धता कमजोर रहेको जिकिर गर्दै कांग्रेसले भनेको छ, ‘उहाँ ९एमाले अध्यक्ष ओली० ले कर्णाली प्रदेशका पार्टी पदाधिकारीहरूसँगको छलफलका क्रममा प्रदेशलाई संघीय सरकारको प्रशासनिक एकाइ मात्र रहेको तथा सबै प्रदेश र देशकै दल नेता आफू मात्र भएको व्याख्या गर्नुभएको थियो ।’ संविधानप्रति एमालेको प्रतिबद्धता नदेखिएको जनाउँदै कांग्रेसले भनेको छ, ‘यो संशयले एमालेमाथि लाग्दै आएको प्रतिगमनकारी शक्तिको आरोपलाई थप पुष्टि गर्छ। संविधानविपरीत दुईदुईपटक प्रतिनिधिसभा विघटन गर्ने उहाँको अधिनायकवादी र सर्वसत्तावादी प्रवृत्तिलाई हामीले बिर्सेका छैनौं। हामी सम्पूर्ण नेपाली जनतालाई यी दुई घटना पुनः स्मरण गराउन चाहन्छौं।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।