
काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सबै सुरक्षा निकायबाट खटाइएका सुरक्षाकर्मी फिल्डमा पुगेका छन् । स्थानीय तह निर्वाचनका लागि सरकारले तीन घेरामा रहनेगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी र म्यादी प्रहरी गरी २ लाख ६८ हजार सुरक्षाकर्मी खटाएको छ । नेपाल प्रहरीले मतदान स्थल र मतदान केन्द्रको भित्री सुरक्षासहित सबै सुरक्षा जिम्मेवारी हेर्नेछ । म्यादी प्रहरी पनि भित्री घेरामा हुनेछन् । सशस्त्र प्रहरी बल दोस्रो र नेपाली सेना तेस्रो अर्थात् बाहिरी घेरामा रहनेछन् ।
निर्वाचनका लागि नेपाल प्रहरीबाट ६२ हजार सुरक्षाकर्मी परिचालन भएका छन् । यस्तै, सशस्त्र प्रहरीबाट ३२ हजार, नेपाली सेनाबाट ७१ हजार र अनुसन्धान विभागबाट ३ हजार तथा म्यादी प्रहरी १ लाखको संख्यामा निर्वाचन सुरक्षामा खटाइएको छ।नेपाली सेनाले निर्वाचनका लागि लक्षित गर्दै देशभरका विभिन्न स्थानमा ८ सय ३४ वटा अप्रेटिङ बेस स्थापना गरेको छ । स्थानीय पोस्ट तथा ब्यारेक नभएका स्थानमा तत्कालै जनशक्ति परिचालन गर्न सकिनेगरी सेनाले अस्थायी बेस स्थापना गरेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए । सैनिक प्रवक्ता सिलवालका अनुसार कम्पनीबाट तैनाथ हुने बेसमा १ सय बढी सैनिक परिचालन हुनेछन् भने प्लाटुनबाट परिचालन हुने बेसमा ४० जना बढी सैनिक खटिनेछन् ।
‘सेनाले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशभरका विभिन्न स्थानमा ८ सय ३४ वटा अप्रेटिङ बेस स्थापना गरेको छ, कम्पनीबाट तैनाथ हुने बेसमा १ सय बढी र प्लाटुनबाट परिचालन हुने बेसमा ४० जनाभन्दा बढी सैनिक खटाइएको छ,’ सैनिक प्रवक्ता सिलवालले राजधानीसँग भने । सरकारले हरेक मतदानस्थलमा ३० मिनेटभित्र सुरक्षाकर्मी पुग्ने गरी तैनाथ रहन निर्देशन दिएपछि सेनाले त्यहीअनुसारको तयारी गरेको हो । सेनाले अस्थायी बेसबाटसमेत मतदानस्थल तत्काल पुग्न नसकिने स्थानका लागि चार स्थानमा हेलिकोप्टरसहितको टोली तयारी अवस्थामा राखेको छ । जसअनुसार काठमाडौं, इटहरी, सुर्खेत र पोखरामा सेनाका हेलिकोप्टर स्टेन्डबाइ रहनेछन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्