Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


प्रदेशलाई उपेक्षा गरी देश समृद्ध बनाउन सकिंदैन : उपप्रधानमन्त्री यादव


0
Shares

चितवन, साउन २७ । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेशलाई उपेक्षा गरेर देशलाई समृद्ध बनाउन नसकिने बताएका छन् । 

आइतबार भरतपुर अस्पतालको निरीक्षण पश्चात आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले संघीयतामा अधिकार, स्रोत र शक्ति प्रदेशलाई दिनुपर्ने बताए । देशमा संघीयता संस्थागत बनेमात्रै जनतालाई प्रदान गरिने सेवा दह्रो हुने मन्त्री यादवको तर्क छ ।

‘स्वास्थ्यलगायत अन्य क्षेत्रका अधिकार प्रदेशलाई दिन सुरु गरिएको छ,’ उनले भने, ‘स्थानीय निकायको शक्ति र केन्द्रीय योजना मिल्नुपर्छ ।’ संघीयता बलियो भए मुलुकको विकास र समृद्धि त्यतिनै अघि बढ्ने मन्त्री यादवको भनाइ छ ।

पछिल्लो समय करका कारण संघीयतामा समस्या आएको भन्दै कर उठाउने कुराको अस्पष्टता अन्त्य गरिनुपर्ने उनले बताए ।

मन्त्री यादवले सरकारले स्वास्थ्य र शिक्षालाई नीतिगतरुपमा पहिलो प्रथामिकतामा राख्ने भन्दै स्वस्थ र शिक्षित नागरिक भए देश आफैँ विकास हुने बताए ।