हरियो चिया पत्तीको उचित मूल्य नहुँदा किसान चिन्तित « Imagekhabar – Online News Portal of Nepal


हरियो चिया पत्तीको उचित मूल्य नहुँदा किसान चिन्तित

मुख्य आयस्रोत नै गुम्ने खतरा

143
Shares

इलाम । इलाममा हरियो चिया पत्तीको उचित मूल्य नहुँदा किसान चिन्तित भएका छन् । मुख्य आयस्रोत नै गुम्ने खतरा भएकाे इलामका नागरिकले गुनासाे गरेका हुन् ।

इलाम भन्ने बितिक्कै चियाको राजधानी भन्ने बुझिन्छ । यहाँका अधिकाशं नागरिकको जिविकोपार्जनको मुख्य स्रोत पनि चिया खेती नै हो । तर अझै पनि किसानले चिया खेतीबाट लाभ भने खासै पाउन सकेका छैनन् ।

जिल्लाको सूर्योदय नगरपालिकामा हरियो चिया पत्तीको उचित मूल्य नपाएका चिया किसान वर्षाैंदेखि पीडामा छन् । घाम पानी केही नभनी वर्षभरिनै चिया खेतीमा नै तल्लिन हुने गरे पनि नगरका अधिकांश उद्योगले बहाना बनाएर हरियो पत्तीको मूल्य निकै कम दिने गरेको उनीहरूको गुनासो छ ।

सूर्योदय नगरपालिकाले हरियो पत्तीको न्यूनतम मूल्य ४० रुपैयाँ तोकिदिएको थियो । नगरले ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यविधि’ नै बनाएर न्यूनतम मूल्य तोके पनि किसानले भने उक्त मूल्य पाउन सकेका छैनन् । नगरपालिकाले तयार पारेको कार्यविधिमा किसानले हरियो पत्तीको गुणस्तर कायम राख्नुपर्ने प्रावधान छ ।

जसमा हरियो पत्तीमा न्यूनतम ४० प्रतिशत सुइरो हुनुपर्ने उल्लेख छ । कार्यविधि अनुसारको सर्त पालना गराउन नियमन कार्य प्रभावकारी भएको पाइँदैन । कामदार नपाएपछि किसालने मेसिन प्रयोग गरेर चिया टिप्ने गरेका छन् । मेसिनले चिया टिपेपछि गुणस्तरहीन पत्ती आउने गरेको र फर्काउनुपर्ने बाध्यता रहेको उद्योगी बताउँछन् ।

लागत अनुसारको मूल्य नपाउने र बिक्री गर्न समस्या हुने गरेको किसानको गुनासो छ भने उता उद्योगीले किसानले चियाको पत्तीमा गुणस्तर कायम गर्न नसकेकोले मूल्य नपाएको दाबी गर्छन् । इलाममा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड रहेता पनि चिया किसान र उद्योगीका समस्या सधै उस्तै छन् ।

र्डका अनुसार सूर्योदय नगरपालिकामा ६६ वटा चिया उद्योग रहेका छन् भने ७ हजार ५ सय किसान चिया खेतीमा आवद्ध छन् ।इलाम, देउमाई र माई नगरपालिकाका साथै सन्दकपुर गाउँपालिकाको धेरै स्थानमा चिया खेती हुने गरेको छ ।