काठमाडौं । निर्वाचन आयोगले पाँच पत्रकार संगठनलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, नेपाल प्रेस मञ्चका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका सचिव पोखरेललाई आइतबार आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको जानकारी दिनुभयो ।
सत्तारूढ दल निकटका पाँच पत्रकार संगठनले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै यही वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेको थियो । विज्ञप्तिमा भनिएको छ – ‘हाम्रो सानो भुलले देश फेरि द्वन्द्व र अस्थिरताको भुमरीमा जान सक्छ । त्यसैले समयमै सचेत बनौं । हामीले नसोचे कसले सोच्ने, अहिले नसोचे कहिले सोच्ने रु तसर्थ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्पष्ट रूपमा परिवर्तनका पक्षधर गठबन्धनका उम्मेदवारलाई निर्धक्क भएर मत दिई विजयी बनाउन हामी हार्दिक अपिल गर्दछौं ।’
निर्वाचन आचारसंहिता २०७८ दफा २२ मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी र पत्रकारले पालना गर्नुपर्ने आचरणको खण्ड (ख) मा सम्बद्ध कर्मचारी र पत्रकारले कसैको पक्षमा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था छ । त्यसै गरी सञ्चार प्रतिष्ठानमा सम्बद्ध कर्मचारी र पत्रकारले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने व्यवस्था छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्