बिना पर्खालको खुला काठमाडौं बनाउँछु : केशव स्थापित « Imagekhabar – Online News Portal of Nepal
३० श्रावण २०७९, सोमबार | Mon Aug 15 2022


बिना पर्खालको खुला काठमाडौं बनाउँछु : केशव स्थापित


1.001k
Shares

काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार दिनुभएका नेता केशव स्थापितले आफू मेयर बनेपछि काठमाडौंलाई बिना पर्खालको खुला काठमाडौं बनाउने घोषणा गर्नुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया तथा प्रतिवद्धता कार्यक्रममा बोल्दै उहाँले अझै पनि काठमाडौंमा एक तिहाई भाग खुला भएको दाबी गर्नुभयो । काठमाडौं भित्र रहेका २४७ वटा निजी तथा सरकारी ठाउँमा लगाएका पर्खाल भत्काउने र सबैलाई प्रवेश दिने व्यवस्था गर्ने उहाँले बताउनुभयो । मेयरका उम्मेदवार स्थापितले स्वीट्जरल्याण्ड पार्कमा अक्सिजन प्लान्ट स्थापना गर्ने र त्यसको लागत महानगरले व्यहोर्ने समेत घोषणा गर्नुभयो ।

कार्यक्रममा सत्तारुढ गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले आफू मेयर भएपछि काठमाडौं महानगरपालिका भित्रका बच्चा जन्मिएपछि एक विरुवा रोप्ने अभियान शुरु गर्ने बताउनुभयो । उहाँले काठमाडौंमा फोहोरको व्यवस्थापन गर्न कुनै ठूलो कुरा नभएको भन्दै यो व्यवस्थापन गर्न नजान्दा भएको कमजोरी रहेको बताउनुभयो ।

त्यस्तै, विवेकशील साझा पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिनुभएकी नेतृ समीक्षा बास्कोटाले आफू मेयरमा निर्वाचित भए सबैभन्दा पहिला फोहोर व्यवस्थापनमा ध्यान दिने बताउनुभयो । उहाँले घरबाट नै फोहोरको व्यवस्थापन गर्न सकिने बताउँदै घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने बताउनुभयो ।

मेयरकी उम्मेदवार बास्कोटाले काठमाडौं महानगरपालिकाभित्र रहेका खुल्ला क्षेत्रलाई सर्वसुलव पार्क बनाउने आफ्नो पार्टीको योजना रहेको समेत बताउनुभयो ।