नुवाकोट । स्थानीय तहको निर्वाचनको माहोलले नुवाकोट तातेको छ । राजनीतिक दलहरु कतै गठबन्धन त एक्लाएक्लै चुनावी प्रतिष्पर्धामा छन् । उम्मेदवारको घरदैलो र गीत संगीतको लहरले डाडाँपाखामा छुट्ट रौनकता छाएको छ । जिल्लाका तीन वटा पालिकामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएका छन् भने केही पालिकामा माओवादी र समाजवादीको गठबन्धन छ । ०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमाले विजयी भएका विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा सत्ता गठबन्धनका दलहरुको साझा उम्मेदवार छन् ।
विदुर नगरपालिकामा नेपाली कांग्रेसका राजनलाल श्रेष्ठ र उप्रमुखमा एकीकृत माओवादीकी प्रभा बोगटी उम्मेदवार छिन् । नेकपा एमालेबाट सञ्जु पण्डित दोहोरिएर उम्मेदवार बनेका छन् । यहाँको चुनावी माहोल रोमान्चक बन्दै गएको छ । सत्ता गठबन्धनका उम्मेदवारहरु बलियो भएपनि एमालेका उम्मेदवारहरु पनि जित आफ्नो पक्षमा पार्नका लागि जुटे्का छन् ।बेलकोटगढी नगरपालिकामा झिनो मतान्तरले ०७४ को निर्वाचनमा पराजय भोगेका माओवादी केन्द्रका जगत लामा प्रमुख पदका उम्मेदवार छन् भने नेपाली कांग्रेसका शिव दाहाल उपप्रमुखका उम्मेदवार बनेका छन् ।
नेकपा एमालेका राजेन्द्ररमण खनाल बेलकोटगढीको प्रमुखमा दोहोरिएर उम्मेदवार भएका छन् । यो पटक गठबन्धनका उम्मेदवारहरुसँग जनताको मन जितेर नेतृत्व आफ्नो पक्षमा पार्न निवर्तमान प्रमुख खनाल ठूलै संघर्ष गरिरहेका छन् ।जिल्लाको किस्पाङ गाउँपालिकामा भने अनौठो गठबन्धन छ । यहाँ ‘प्रतिगमनकारी’ भनेर नथाक्ने माओवादीले एमालेसँग गठबन्धन बनाएको छ । एमालेका विरवल तामाङ अध्यक्षका उम्मेदवार छन् भने माओवादीका अर्जुन न्यौपाने उपप्रमुखका उम्मेदवार छन् । किस्पाङमा यस अघि नेपाली कांग्रेसका छत्र लामाले जितेका थिए । उनी पनि अहिले दोहोरिएर अध्यक्षमा प्रतिष्पर्धामा उत्रेका छन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्