Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


‘स्थायित्वका लागि सत्ता गठबन्धनलाई भोट’


312
Shares

काठमाडौं । सत्तारूढ पाँच दलका शीर्ष नेताहरूले संविधानसभाबाट जारी संविधान र लोकतन्त्र रक्षाका लागि गठबन्धन निर्माण भएकाले स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन्। वैशाख ३० गते हुने स्थानीय निर्वाचनअन्तर्गत शुक्रबार काठमाडौंमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै शीर्ष नेताहरूले लोकतान्त्रिक गणतन्त्रको रक्षासहित मुलुकमा स्थायित्व, आर्थिक समृद्धि र विकासका लागि गठबन्धनका उम्मेदवारलाई निर्वाचनमा जिताउन आग्रह गरेका हुन्।

नेकपा एमाले नेतृत्वको तत्कालीन सरकारले जनमत र संविधानमाथि प्रहार गर्दै पटकपटक प्रतिनिधिसभा विघटन गरेको स्मरण गराउँदै पाँच दलका शीर्ष नेताहरूले अहिले परिवर्तन पक्षधर र विरोधीबीच निर्वाचन भइरहेको दाबी गरे। नेपाली कांग्रेसको नेतृत्वमा रहेको पाँचदलीय गठबन्धन परिवर्तन पक्षधर रहेको भन्दै नेताहरूले केपी ओली नेतृत्वको एमाले गठबन्धनलाई परिवर्तन विरोधी र प्रतिगामीको संज्ञा दिए। प्रतिगामी समूहका उम्मेदवारले चुनाव जिते परिवर्तनका उपलब्धि गुम्ने दाबी गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले काठमाडौं महानगरपालिकासहित देशभर गठबन्धनका उम्मेदवारलाई जिताउन जनतालाई अपिल गरे।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकालाई व्यवस्थित बनाउन गठबन्धनका उम्मेदवार सिर्जना सिंहलाई जिताउन आग्रह गरे । उनले गठबन्धनका तर्फबाट दुई महानगरपालिकामा नेतृत्वका लागि महिलालाई उम्मेदवार बनाइएको बताए। भरतपुरमा रेणु दाहाल र काठमाडौंमा सिर्जनाले चुनाव नजिते दुनियाँले के भन्ला भन्ने प्रश्न देउवाले गरे। उनले कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुँदैमा सिर्जना महानगरपालिकाको प्रमुख हुन पाउने अधिकारबाट वञ्चित हुन नहुने बताए। देउवाले भने, ‘काठमाडौंमा फोहोरको समस्या छ, सिर्जनालाई मेयरमा जिताउनुस्, ६ महिनाभित्र त्यसको व्यवस्थापन हुन्छ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।