गतवर्ष रेकर्ड तोडियो, यसवर्ष पनि सरदरभन्दा बढी वर्षा हुने « Imagekhabar – Online News Portal of Nepal


गतवर्ष रेकर्ड तोडियो, यसवर्ष पनि सरदरभन्दा बढी वर्षा हुने


2.028k
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन गरेको छ ।

शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने जनाएको हो ।

विभागकाअनुसार आगामी जेठ १८ देखि असोज १४ गतेसम्म चार महिनाको मनसुन सिजनमा देशका अधिकांश स्थानहरूमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना छ ।

विमागका सुदर्शन हुमागाँईले गत वर्षमा मनसुन अवधिभर ६ वटा स्टेशनमा वर्षाको रेकर्ड तोडिएको बताउनुभयो ।

उहाँका अनुसार चरिकोट, खैरहनीटार, बाजुरा, दमौली, खाटमार्फा र जोमसोम स्टेशनमा पहिलाको रेकर्ड तोडेर धेरै वर्षा मनसुन अवधिमा भएको हो ।

गतवर्ष मनसुनी वर्षाले ७९ जनाको निधन भएको थियो । जसमा बाढीको कारण ४३, चट्याङको कारण २७ र भारी वर्षाको कारणले १६ जनाको मानवीय क्षति भएको थियो ।

त्यस्तै जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक डा.अर्चना श्रेष्ठले यो वर्ष सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको बेलैमा सचेत रहन आग्रह गर्नुभयो ।

उहाँले मौसम तथा बाढी पूर्वानुमानको सूचना दिने आ–आफ्नो क्षेत्रको कार्ययोजना बनाउन पनि सम्बन्धित निकायसँग आग्रह गर्नुभयो ।

आगामी मनसुन सिजनमा प्रदेश १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेका दक्षिणी भूभागमा सरदर वर्षा हुने सम्भावना छ ।