काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग पार्टी एकताका लागि अनौपचारिक कुरा भए पनि त्यसपछि थप कुनै छलफल नभएको प्रष्ट गर्नुभएको छ ।
चितवनमा आज बुधबार पत्रकारहरूसँग कुरा गर्नु हुँदै अध्यक्ष मिश्रले केही समयअघि राप्रपाका नेताहरूसँग पार्टी एक बनाएर जानेबारे अनौपचारिक कुराकानी भएको बताउनुभएको हो ।
दुई पार्टी एक ठाउँमा आउँदा हस्तक्षेप गर्न सकिने शक्ति बन्न सक्छ कि भनेर छलफल गरिए पनि त्यसपछि अरु संवाद नभएको उहाँको भनाइ थियो । देश रूपान्तरण गर्न हस्तक्षेपकारी विन्दुमा पुग्नुपर्ने भन्दै उहाँले संवाद गरिएको तर परिणाम नआएको बताउनुभयो ।
आफूहरू विचार माथि देश हुनुपर्ने पक्षमा रहेको भन्दै स्थानीय तहलाई पुनसंरचना र सुदृढ गर्दै संघीयता खारेजी गर्ने पक्षमा भएको पनि उल्लेख गर्नुभयो ।
आफूहरूले हिन्दू राष्ट्र र राजसंस्था नभनेको प्रष्टीकरण दिँदै उहाँले भन्नुभयो, ‘धर्म निरपेक्षताका बारेमा जनताको राय लिने भनेका हौं ।’
कार्यक्रममा भरतपुर महानगरमा पार्टीबाट मेयर उठेका प्रवीन काफ्लेको प्रतिवद्धता पत्र पनि सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्