Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


लकडाउनको असर: मजदुर र विपन्न परिवार ‘भोकभोकै’, वादी समुदायमा भोकमरी सुरु


0
Shares

सर्लाही । लकडाउनको समय लम्बिदै जाँदा दैनिक ज्याला मजदुरी गरेर घर परिवार चलाउने सर्लाहीका विपन्न परिवारका व्यक्तिहरु मारमा पर्न थालेका छन् ।

दैनिक मजदुरी गरेर विहान बेलुकाको छाक टार्ने डोम, मुसहर, चमारलगायतका दलित परिवार एवं अति विपन्न परिवारको घरमा खानेकुराको अभाव हुन थालेको हो ।

घरमा खाने अन्न नभएको र काम पनि गर्न नपाएकाले भोक भोकै बस्नु पर्ने अवस्था आएको उनीहरुले गुनासो गरेका छन् ।

सरकारले मास्क र साबुन र आफूहरुलाई खाने कुराको समेत व्यवस्था गनुपर्ने उनीहरुको माग छ ।

यता, लकडाउनपछि जिल्लामा खाद्यान्नको बिक्री गर्ने पसल व्यवसाय पनि बन्द हुँदा नागरिकलाई दैनिक उपभोग्य वस्तु खरिद गर्न समस्या भएको छ ।

तरकारी तथा फलफूलको खरिद बिक्री हुने बजार, ग्यास पसल जस्ता अत्यावश्यक वस्तुको किनबेच हुने पसल व्यवसाय पनि सिमित समयको लागि खुल्दा जनजीवन थप प्रभावित हुन थालेको छ भने बजार भाउले पानी आकास छोयको स्थानीयबासीको भनाइ छ ।

लकडाउनपछि सर्लाहीमा औषधि पसल, स्वास्थ्य संस्था र ग्रामिण भेगका केही किराना पसलबाहेक अन्य व्यापर व्यवसाय ठप्प छन् ।

राजमार्गमा बिरामी बोकेका एम्बुलेन्स र मालबाहक गाडीबाहेक अन्य सवारीसाधन सञ्चालन भएका छैनन् ।

वादी समुदायमा भोकमरी

बझाङको सदरमुकाम चैनपुरमा रहेको वादी समुदायमा भोकमरी सुरु भएको छ ।

मागेर जीविका चालाउँदै आएका वादी समुदायमा सरकारले लकडाउन गरेसँगै भोक भोकै बस्नु परेको वादी समुदायले गुनासो गरेका छन् ।

केही दिन अघिसम्म गाँउ घरबाट मागेर जम्मा गरेको खाद्यन्न सकिए पछि आफूहरु भोकै बस्नु परेको उनीहरुले बताएका छन् ।

छोरा छोरीका लागि खानको जोहो गर्ने भन्दै बजारमा गए सबै पसलहरु बन्द रहेको छन् ।