
पोखरा । अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले त्यो बेलाको पोखरा लेखनाथ महानगरपालिकाको प्रतिवद्धतापत्र सार्वजनिक गर्दै महानगरका व्यस्त मार्ग र चोकमा आवश्यकता अनुसार फ्लाईओभर, टनेल, आकाशेपुल निर्माण गरि ट्राफिक व्यवस्थालाई सहज तुल्याउने उल्लेख गरेको थियो। त्यस्तै कोरलादेखि त्रिवेणीसम्मको स्थलमार्ग र केरुङ–काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्मको रेलमार्गमा पोखरालाई जोडेर नेपालकै प्रमुख व्यापारिक केन्द्र र पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्नुका साथै आवश्यकता अनुसार बसबिसौनी, प्रतीक्षालय, सवारि पार्किङ, जेब्रा क्रसिङ, पैदलमार्ग, साइकल लेन, फ्लाईओभर, टनेल, ओभरहेड ब्रिजसहित वैज्ञानिक ढंगले ट्राफिक व्यवस्थापन गरि मेट्रो सेवा संचालन गरिने उल्लेख गरेको थियो।
प्रतिद्धतापत्रमा उल्लेख गरेकामध्ये यो अवधिमा पोखरा–८ सिर्जनाचोकमा एउटा मात्र आकाशेपुल त्यसबाहेक अरु कुनै काम पाँचवर्षे अवधिमा पुरा हुन त परैको कुरा सुरुवात समेत भएका छैनन्। आगामि स्थानीय तहको चुनावमा पोखरा महानगरपालिकाको प्रतिवद्धतापत्र सार्वजनिक गर्दै एमालेले पाँचवर्ष अघिकै योजना दोहोर्यायो। अघिल्लो पटकका योजनालाई ‘कपि पेस्ट’ गर्दै सहरका सबै योजनालाई घोषणापत्रमा समेट्यो।
एमालेले योजना दोहोर्याए झै सत्ता गठबन्धनबाट आगामि चुनावका लागि पोखरा महानगरपालिकाको सार्वजनिक प्रतिवद्धतापत्रमा पनि महानगरको व्यस्त सडक तथा चोकमा आवश्यकता अनुसार आकाशे पुल तथा अन्डरपास–वाइपास निर्माण गरिने उल्लेख छ। त्यस्तै फेवा–बेगनास मेट्रोरेल संचालनको योजना गठबन्धले सार्वजनिक गरेको छ। त्यस्तै प्रादेशीक तथा संघीय सरकारसँगको सहकार्यमा केरुङ काठमाडौं हुँदै पोखराबाट लुम्बिनी सम्म रेलमार्ग संचालन गर्ने तथा अन्तर्राष्ट्रिय व्यापार केन्द्रको रुपमा पोखरालाई विकास गर्न पहल गर्ने उल्लेख छ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्