Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


आचारसंहिता पालना गराउन प्रेस काउन्सिलको सक्रियता


78
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा केही सञ्चार माध्यमहरूले उम्मेदवारविरुद्ध अप्रमाणित आरोपलाई स्थान दिएर दुष्प्रचार गर्न थालेपछि प्रेस काउन्सिल नेपालले त्यस्ता सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी दिएको छ ।केही दिनदेखि केही अनलाइन तथा पत्रपत्रिकाहरूले स्थानीय तहमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध अप्रमाणित तथा झुटा समाचार प्रकाशन गरेर दुष्प्रचार गरिरहेको भन्ने उजुरी काउन्सिलमा परेपछि काउन्सिलले त्यस सम्बन्धमा सूक्ष्म अनुगमन गरी कारबाही थालेको हो । सामाजिक सञ्जालमा पनि उम्मेदवारविरुद्ध फेक तथा भ्रम फैलाउने सूचना नराख्न प्रेस काउन्सिलले चेतावनी दिएको छ ।

३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनलाई स्वच्छ, पारदर्शी र धाँधलीरहित बनाउन र सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार प्रकाशन हुनबाट रोक्ने उद्देश्यले प्रेस काउन्सिल नेपालले अनुगमनलाई सक्रिय पारेको जनाएको छ । प्रेस काउन्सिल नेपालले दुष्प्रचारयुक्त तथा घृणास्पद अभिव्यक्तिलाई स्थान नदिन, कुनै दल वा उम्मेदवार विशेषको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न÷नगराउन सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा अपिल गरेको हो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारकर्मी र सञ्चारमाध्यमहरूले पूर्ण रूपमा निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने र पालना नगरेको पाइए आवश्यक कारबाही गरिने चेतावनी दिए । ‘सञ्चारमाध्यमले आचारसंहिता पालना गरे नगरेको ’दयगतमा काउन्सिलले २४सै घण्टा अनुगमन गरिरहेको छ, उल्लंघन गर्ने जोसुकैमाथि कडा कारबाही गर्छौं,’ अध्यक्ष बस्नेतले राजधानीसँग भने । उनले उम्मेदवारको व्यक्तिगत प्रतिष्ठामाथि आँच आउने गरी कुनै पनि सञ्चारमाध्यम र सञ्चारकर्मीले दुष्प्रचार गर्न नहुनेमा सचेत गराए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।