म्याग्दी । विदेशबाट आएका १ सय १५ जनामध्ये ४९ जनामात्र क्वारेन्टाइनमा बसेका छन् ।
म्याग्दीका ६ वटा स्थानीय तहमा रहेका १ सय १८ जना क्षमताका २० ओटा क्वारेन्टाइन केन्द्रमा विदेशबाट आएका १ सय १५ जनामध्ये बुधबारसम्म जम्मा ४९ जना मात्र आएका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि विदेशबाट आएकालाई राख्न बनाइएको म्याग्दीका क्वारेन्टाइनमा बस्नेको संख्या न्यून रहेको छ ।
सदरमुकाम बेनी र स्थानीय तहमा स्थापना भएका क्वारेन्टाइनमा बस्नेको हालसम्मको संख्या ४९ जना मात्र रहेको जिल्ला विपद व्यवस्थापन समितिअन्तर्गत गठित कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिए ।
सदरमुकाम बेनीको न्यू वेष्टप्वाइन्टमा रहेको क्वारेन्टाइनमा बसेका २४ मध्ये चारजना विदेशबाट आएका १५ दिन पूरा गरेर घर फर्किएको केसीले बताए ।
जिल्लाभर चैत १ गते यता विदेशबाट आएका १ सय १५ जनाको लगत संकलन भएको थियो ।
विदेशबाट आएको १५ दिन पुगेका र स्वास्थ्यमा कोरोनाको लक्षण देखा नपरेकाहरुलाई घर फिर्ता पठाइएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
कोरोनाको संक्रमण देखिने अवधि दुई साता रहेकाले सो भन्दा बढी दिन भइसकेको र स्वास्थ्यमा समस्या नआएकाहरुलाई बेनी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीमार्फत स्वास्थ्य परीक्षण तथा आवश्यक काउन्सिलिङ गरि घर पठाइएको जिल्ला विपद व्यवस्थापन समितिअन्तर्गत गठित कमाण्ड पोष्टका सदस्य केसीले जानकारी दिए ।
बेनी नगरपालिकाको सहयोगमा वेनीको न्यु वेष्ट प्वाइन्ट कलेजमा निर्माण गरिएको क्वारेनटाइनमा चैत यता प्रवासबाट आएका २४ जना बसेका थिए ।
लामो समयपछि विदेशबाट गाउँमा आएका अधिकांश व्यक्तिहरु क्वारेन्टाइनमा आउनै मानेका छैनन् ।









प्रतिक्रिया दिनुहोस्