काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका निवर्तमान जिल्ला सभापति कर्णबहादुर मल्ललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मल्लले विधानविपरीत गतिविधि गरेको भन्दै मंगलबार नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी हटाइएको हो ।
डडेल्धुरामा मल्लको नेतृत्वमा कांग्रेसका नेता तथा कार्यकर्ताहरू पार्टीबाट विद्रोह गरी नेपाली कांग्रेस ९बीपी० बाट करुवा चुनाव चिह्न लिएर नेकपा एमालेसँग तालमेल गरी चुनावी मैदानमा होमिएका छन् । निवर्तमान सभापति मल्लकै निवासमा कांग्रेस बीपी र एमालेबीच चुनावी तालमेल गरी भागबण्डामा पालिका बाँडफाँट गरिएको छ ।
डडेल्धुराको अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकाको प्रमुखमा कांग्रेस बीपीले उम्मेदवारी दिएको छ भने नेकपा एमालेले परशुराम नगरपालिका, आलीताल गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएको छ । कांग्रेसले मल्ललाई कारबाही गरेको यो पहिलोपटक भने हैन । साधारण सदस्यसमेत नरहने गरी अहिले गरिएको कारबाहीबारे मल्लले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘देउवाले मलाई कारबाही गरेको यो पहिलोपटक हैन । देउवा जतिपटक सभापति हुनुभयो त्यति नै चोटि मलाई कारबाही गरेको छ ।’
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्