Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


लकडाउनकै बेला दिल्लीको एक धार्मिक सभामा पुगेका २० नेपालीलाई क्वारेन्टाइनमा राखियो


0
Shares

रौतहट । भारतको नयाँ दिल्लीमा लकडाउनको बेला एक धार्मिक सभामा नेपालीहरु समेत सहभागी रहेको खुलेको छ ।

मार्च १ गते देखि १५ गतेसम्म नयाँदिल्लीस्थित निजामुद्दीनको मर्कज बिल्डिङमा भएको तबलीगी समुदायको धार्मिक सभामा करिब आठ हजार जना सहभागीमध्ये नेपालबाट पनि २० जना सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतले सभा सम्मेलनमा रोक लगाए पनि स्थानीय प्रशासनले रोक नलगाउँदा सभामा कोरोना भाइरस संक्रमणको त्रास बढेको हो ।

हाल दिल्लीका स्थानीय प्रशासनले उनीहरुलाई क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेको छ ।

दिल्लीमा भेटिएका ९७ संक्रमितमध्ये २२ जना त्यही सभामा सहभागी भएको र कोरानाका कारण मृत्यु भएका ६ जना समेत सोही सभामा सहभागि भएको तेलङ्गना सरकारलाई उद्धत गर्दै प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ ।

उक्त धार्मिक सभामा सहभागी रहेका नेपालीहरु दिल्लीमा क्वारेन्टाइनमा राखिएको जनाइएको छ । सहभागीमा १६ जना रौतहटको र चार जना बारा जिल्लाको रहेको खुल्न आएको छ ।