Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


स्थानीय निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता


156
Shares

काठमाडौं । स्थानीय निर्वाचनका लागि आज आइतबार र भोलि सोमबार उम्मेदवारको मनोनयन दर्ता गरिंदै छ ।

निर्वाचन आयोगले विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारी दिनेहरुलाई आइतबार र सोमबार स्वास्थ्य मापदण्डलगायतका आचारसंहिता पालना गर्दै उम्मेदवारी दर्ता गर्न आह्वान गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म र सोमबार पनि बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म नै मनोनयन दर्ता गर्न सकिने बताउनुभएको छ ।

आयोगले उम्मेदवारीका लागि योग्यता पुगेका सबै मतदाताहरुलाई आफूलाई मन लागेको पदमा उम्मेदवारी दिन सक्ने वातावरण बनाई दिन पनि सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आम सञ्चार माध्यम र सरोकारवाला सबैलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता पौडेलले २०७४ सालको स्थानीय तह निर्वाचनमा एकै दिन मनोनयन गर्दा अत्यधिक चाप देखिएकाले अहिले २ दिनको समय दिइएको बताउनुभएको छ ।