Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


एमाले चुनावी घोषणापत्र: प्रत्येक स्थानीय तहमा औद्योगिक केन्द्र


91
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रत्येक स्थानीय तहमा औद्योगिक केन्द्र स्थापना गर्ने प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले शुक्रबार जारी गरेको घोषणापत्रमा विकासको स्थायी संरचना बनाउन ‘एक स्थानीय तह, एक औद्योगिक केन्द्र निर्माण गर्ने’ प्रतिबद्धता व्यक्त गरिएको छ। यसबाट रोजगारी सिर्जना हुने र युवा विदेश जानबाट रोकिने विश्वास एमालेको छ।

सहकारीमार्फत गरिबी निवारण गर्ने प्रतिबद्धतासहित एमालेले त्यसका लागि प्रत्येक पालिकामा विपन्न परिवारको पहिचान गर्ने, गरिबीसम्बन्धी तथ्यांक अद्यावधिक गर्ने र विपन्न परिवारकै सहभागितामा उत्पादन सहकारी निर्माण गर्ने भएको छ। ‘समृद्धि र समाजवादको आधार, पालिका–पालिकामा एमालेको सरकार’ भन्ने मूल नारा सहित एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

स्थानीय पुँजी संकलन, उद्यमशीलताको विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारण माध्यमका रूपमा सहकारीलाई विकास गरिने घोषणापत्रमा उल्लेख छ। सहकारी र निजी क्षेत्रसँगको लागत तथा व्यवस्थापन सहभागितामा स्थानीय वस्तुको उत्पादन, आपूर्ति तथा बजारीकरण गर्ने, बचत तथा ऋण सहकारीलाई उत्पादनमूलक क्षेत्रमा पुँजी परिचालन गर्न प्रोत्साहित गर्ने नीति उसले लिएको छ। कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, आवास, विद्युत्, बायोग्यास, उपभोक्ता, फोहोरमैला संकलन तथा प्रशोधन, प्रांगारिक मल तथा जैविक विषादी उत्पादन आदिमा सहकारीको प्रवर्द्धन गर्ने, स्थानीय सहकारी संस्थाहरूको दर्ता, परिचालन र प्रवर्द्धन गर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।