काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा सरकार परिवर्तनसँगै नीति पनि परिवर्तन हुँदा चिनियाँ लगानीकर्ताहरू समस्यामा परेको बताउनुभएको छ । चिनियाँ दूतासबासले बिहीबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा यस्तो गुनासो पोख्नुभएको हो । उहाँले ठूला आयोजना बनाउन लामो समयसम्म तयारी गर्नुपर्ने र त्यसै गरी उक्त आयोजना सम्पन्न हुन पनि लामै समय लाग्ने जिकिर गर्दै त्यस बीचमा सरकार परिवर्तनसँगै हुने लगानी नीति परिवर्तनले चिनियाँ लगानीकर्ता मारमा परेको गुनासो गर्नुभयो ।
उहाँले प्रस्ट रूपमा कुनै परियोजनाको नाम नलिए तापनि ओली नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई दिइसकेको बुढीगण्डकी परियोजना वर्तमान सरकारले दुई साताअघि आफैं बनाउने निर्णय गरेकोप्रति लक्षित थियो । उहाँले भन्नुभयो–‘लोकतान्त्रिक मुलुकमा सरकार परिवर्तन भइरहनु नौलो कुरा होइन । यो यहाँको आन्तरिक मामिला हो । तर, सरकार फेरिएसँगै नीति परिवर्तन हुँदा विदेशी लगानीकर्तालाई सकस हुन्छ । त्यसैले लगानीसम्बन्धी नीतिगत विषयले जुनसुकै सरकारको पालामा पनि निरन्तरता पाउनुपर्छ ।’
त्यतिमात्रै होइन, राजदूत हाउले नेपालमा काम गरिरहेको चिनियाँ कम्पनीहरू समयमै भुक्तानी नपाउँदा ठूलाठूला परियोजनाहरूको कार्य सम्पादनमा प्रत्यक्ष असर परिरहेको पनि बताउनुभयो । अधिकांश चिनियाँ कम्पनीहरू सडक निर्माण, जलविद्युत् आयोजना निर्माणमा संलग्न रहेको जिकिर गर्दै उहाँले भन्नुभयो–‘काठमाडौं चक्रपथ निर्माणका क्रममा चिनियाँ कम्पनीले घरजग्गा अधिग्रहण, रूख कटानलगायतका समस्या भोगेका थिए । अहिले अन्य परियोजनामा त्यस्ता समस्याहरू छन् । नेपाली पक्षले यी समस्याहरू समाधान गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।’
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्