Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


माथिको आदेश भन्दै पूर्वमन्त्री बस्नेतलाई स्वास्थ्य सामग्री बाँड्न रोक


0
Shares

सिन्धुपाल्चोक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहन बहादुर बस्नेतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न रोक लगाइएको छ ।

आज बिहान  प्राथमिक स्वास्थ्य केन्द्र  बाह्रविसेलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग स्वरुप हस्तान्तरण गर्न गएका बस्नेतलाई प्रहरीले स्वास्थ्य केन्द्रको ढोकाबाटै फिर्ता पठाएको हो ।

माथिको आदेश छ भन्दै शसस्त्र र जनपथका २० जना जति प्रहरी हस्पिटलको गेटमा नै बसेर बस्नेतलाई सामान हस्तान्तरण गर्न रोक लगाएको सिन्धुपाल्चोकका काँग्रेस नेता हरिशरण श्रेष्ठले जानकारी दिए ।

बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षाको लागि चाहिने पीपीई, स्पेशल मास्क, चस्मा लगायत सामग्री स्वास्थ्य केन्द्रलाई सहयोग स्वरुप हस्तान्तरण गर्न लागेका थिए ।

यस्तो विषम परिस्थितिमा पीपीइ जस्तो अत्यावश्यक सामग्री पनि बाँड्न दिइएन यो कस्तो प्रशासनको रवैया हो नेता श्रेष्ठले आक्रोश पोखे ।

‘सबैतिर परिचालन हुनुपर्ने प्रहरी एकैठाउँ बसेर सामग्री बाड्न दिएनन यो अति नै अशोभनीय र लाजमर्दो कुरा हो’ उनले भने ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्न नदिएपछि  बाह्रविसे नगरपालिका ९ का वडा अध्यक्ष सानु तामाङलाई बस्नेतले सामान हस्तान्तरण गरेका छन् ।

ती सामग्रीहरु अध्यक्ष तामाङले अस्पतालमा हस्तान्तरण गरिसकेका छन् । ‘अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्न दिएनन् तपाइले लगेर अस्पतालमा दिनुहोस् भन्नुभयो मैले लगेर दिए’ तामाङले भने ।

यता प्रहरीले भने पूर्वमन्त्री बस्नेतलाई स्वास्थ्य सामग्री हस्तान्तरणमा रोक्ने आफ्नो उद्देश्य नभएको बताएको छ ।

यस्तो विषम परिस्थितिमा स्वास्थ्य सामग्री सहयोग गर्नु अत्यन्तै राम्रो कुरा हो तर सहयोग गर्ने सामग्रीहरु एकद्धार नितिबाट मात्रै बाँड्ने सरकारको निर्णय अनुसार हामीले रोकेका हौं प्रहरी नायब उपरीक्षक (डिएसपी) माधव प्रसाद काफ्लेले जानकारी दिए ।

कँही धेरै स्वास्थ्य सामग्री हुने र कँही स्वास्थ्य सामग्री नै नहुने अवस्था नहोस् भन्नका लागि एकद्धार निति अवलम्बन गरिएको र त्यसको कार्यान्वयनमा प्रहरीले सहयोग मात्रै गरेको काफ्लेले बताए ।

केही दिन अघि जिल्ला समन्वय समितिको समन्वयमा जिल्लाका सरोकारवालाहरुको बैठकले पनि सहयोग सामग्रीहरु एकद्धार नितिमा मात्रै बाँड्ने निर्णय गरेको थियो ।

यदि कसैले स्वास्थ्य सामग्री वा खाद्य सामाग्री सहयोग गर्न चाहे पालिका विपद व्यवस्थापन समिति र जिल्ला विपद व्यवस्थापन समितिमा हस्तान्तरण गनुृपर्नेछ । 

यसअघि जिल्लाका विभिन्न ठाउँमा बस्नेतले स्वास्थ्य सामग्री र खाद्य सामाग्रीहरु सहयोग गरेका थिए ।