Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


कोरोनाभाइरसः राज्यका गल्ती र स्थानीय निकायको दायित्व


0
Shares

यज्ञराज पाण्डे (इमेज)

काठमाडौं, चैत १५ । नेपालमा कोरोना संक्रमितको संख्या आइतबारसम्म पाँच पुगेको छ ।

विदेशबाट फर्किएकाहरुमा संक्रमण भेटिएपछि चेकजाँच बढाउन ढिलाइ गर्न नहुने देखिएको छ ।

सरकारले गत फागुन ४ गते चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीमा ‘क्वारेन्टाइन’मा राख्यो ।

विमानस्थलबाट सीधै क्वारेन्टाइनमा लगेर १६ दिनसम्म राखिएका उनीहरुलाई कोरोनाभाइरस ‘नेगेटिभ’ देखिएपछि फागुन २० गते घर फर्काइयो ।

तर, पछिल्लो समयमा भने कतार एअरवेजबाट आएकाहरुलाई क्वारेन्टाइनमा नराखी सीधै घर पठाइयो ।

चैत ४ गते फ्रान्सबाट कतार हुँदै आएकी नेपाली युवतीमा चैत ९ गते टेकु अस्पतालमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भयो ।

यसअघि, चीनबाट आएका एकजना नेपालीमा पहिलो संक्रमण भेटिएको थियो । तर, उनी उपचारपछि निको भएका छन् ।

कतार एअरवेजको विमानमा आएका सबै यात्रुलाई क्वारेन्टाइनमा राखेको भए नेपालमा कोरोना संक्रमणको त्रास अहिलेजस्तो नहुने देखिइसकेको छ ।

उक्त विमानमा रहेका अन्य ९ जना नेपालीहरु आफ्ना घर पुगे भने बाँकी काठमाडौंकै होटलमा । उनीहरुको सम्पर्कमा आएकाहरुमा संक्रमणको जोखिम देखिएको छ ।

यद्यपि, केही यात्रुलाई भने फेला पारेर वारेन्टाइनमा राखिएको छ ।

राज्यको अर्को गल्ती भारतबाट आएका हजारौं हजार मानिसलाई चेकजाँच नै नगरी नेपाल भित्र्याउनु पनि रह्यो ।

कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, नेपालगन्जको रुपडिया, पर्साको वीरगञ्ज र अन्य नाकाहरुबाट हजारौंको संख्यामा नेपालीहरु भारतका विभिन्न सहरबाट आएका छन् । जबकि, भारत कोरोनाको महामारीसँग जुधिरहेको अवस्था छ ।

गाउँगाउँ पसेका उनीहरुमध्ये कसैमा पनि कोरोनाको संक्रमण पुष्टि भए स्थिति भयावह हुन सक्छ ।

त्यस्तै, नेपालगन्जमा क्वारेन्टाइनमा राखिएका भनिएका १९२ जना जबर्जस्ती भागेर गाउँगाउँ पुग्दा सरकारको अर्को कमजोरी यहाँ पनि देखियो । ती सबैलाई अनिवार्यरुपमा १४ दिन क्वारेन्टाइनमा राखिनु पर्थ्यो । जुन हुन सकेन ।

स्थानीय तहहरु पनि यो बेलामा जागरुक हुनुपर्छ । डिसइन्फेक्सन छर्कने, क्वारेन्टाइनको व्यवस्था गर्ने, अत्यावश्यक सामग्रीहरु उपलब्ध गराउनेजस्ता कार्यमा उनीहरुको भूमिका महत्वपूर्ण हुन्छ । सरोकारवाला निकायसँग समवन्य गर्दै जनतालाई सचेत र सजग बनाउनु उनीहरुको जिम्मेवारी पनि हो ।

महामारीको गम्भीरतालाई बुझेर सुरक्षा सावधानी अपनायौं भने संक्रमणको जोखिम कम गर्न भने पक्कै पनि सकिन्छ ।

Skip This