Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


सचिवहरूले विज्ञप्ति निकालेको विषयमा थाहा भएन, म गठबन्धनकाे बैठकमै छु : कास्की कांग्रेस सभापति बराल


923
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अस्वाभाविक माग राखेको भन्दै कांग्रेस कास्कीका दुई सचिवले विज्ञप्ति निकालेर गठबन्धन तोडेको घोषणा गरेका छन् ।

तर, सभापति किशोरदत्त बराल भने गठबन्धन कायम रहेको बताउनुहुन्छ । उहाँ अहिले पनि गठबन्धनकै बैठकमा छन् ।

‘म बैठकमै छु, गठबन्धन टुटेको कुरा साँचो होइन,’ उहाँले भन्नुभयो, ‘सचिवहरूले किन त्यसो गर्नुभयो मैले बुझ्न पाएको छैन, विज्ञप्ति निकाल्न मसँग सल्लाह लिनुभएको होइन ।’

अहिले जिल्लाका पालिकामा बाँडफाँट टुङ्ग्याउन गठबन्धनको बैठक होटल दीपसागरमा बसिरहेको छ । एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्यले विज्ञप्ति गलत भएको बताउनुभयो ।

कांग्रेसकै सभापतिको नेतृत्वमा बैठक बसिरहेको बेला बाहिरबाट आएका विज्ञप्तिले खासै असर नगर्ने उहाँको भनाइ छ ।

‘गठबन्धनको बैठक चलिरहेको छ, सभापतिज्यू यहीँ हामीसँगै हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘गठबन्धन टुटेको भए बैठक किन चलिरहन्थ्यो ? टुटेको छैन । यो कायम रहन्छ ।’

एकीकृत समाजवादीले पोखराको मेयरमा दाबी गरेको छ । तर, कांग्रेसले भने जनमत नै नभएको पार्टीले मेयर माग्दा हारिने भन्दै कांग्रेसले नै मेयर पाउनुपर्ने अडान राखेको छ ।

दुई सचिवले एकीकृत समाजवादीको माग अस्वाभाविक भएकोले उसँग गठबन्धन नहुने विज्ञप्तिसहित जिल्लाका नेता कार्यकर्तालाई सोहीअनुसार काम अघि बढाउन निर्देशन दिएका छन् ।