Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


सुनचाँदीको आपूर्ति व्यवस्था गर्न व्यवसायीको माग


104
Shares

काठमाडौं । सुनचाँदी व्यवसायीहरूले सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सुनचाँदीको आपूर्ति ठप्प भएपछि त्यसको वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामुहिक आग्रह गरेका हुन् । अत्यावश्यक वस्तु बाहेक अन्य वस्तुहरुको एलसी नखोल्ने बैंकहरुको गत साताको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति ठप्प भएको छ ।

आपूर्ति नहुँदा यस क्षेत्रमा आवद्ध २० औं हजार व्यवसायी तथा लाखौं कालिगढको रोजिरोटी नै संकटमा पर्न गएको तथा आम उपभोक्ताको अधिकार कुण्ठित भएको भन्दै आपूर्तिको विकल्प खोज्न सरकारसँग आग्रह गरेका हुन् ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यले विदेशी मुद्राको सञ्चिति घटेको अहिलेको अवस्थामा बैंकहरुबाट ल्याइने सुनको आपूर्ती रोकिएपनि बजारलाई सुचालु राख्न वैकल्पिक व्यवस्थाको खाँचो औंल्याउनुभयो । विदेशी मुद्रा सञ्चितिमा प्रभाव नपर्ने गरी आन्तरिक स्रोत र अन्य वैकिल्पिक व्यवस्था अवलम्वन गरी अहिलेको गर्जो टार्न सकिने उहाँको भनाइ छ ।

नेपाल हस्तकला व्यवसायी महासंघका अध्यक्ष प्रचण्ड शाक्यले कच्चा पदार्थको आपूर्ति रोकिँदा चौतर्फी समस्या आएको गुनासो गर्नुभएकाे छ।