२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


स्वदेशमै पिपिई निर्माण नगरे ‘कोरोना-युद्ध’ जित्न सकिन्न


0
Shares

-बलदेव तामाङ                                        

गत डिसेम्बरदेखि चीनको वुहान क्षेत्रबाट फैलिएको नोवेल कोरोना भाईरस (कोविड–१९) ले संसारलाई नै आतंकित बनाइरहेको छ । विश्व स्वास्थ्य संगठनले यस अघि नै संकटकालको घोषणा गरिसकेको छ । विश्वका शक्तिशाली एवं विज्ञान र स्वास्थ्यको क्षेत्रमा धेरै राम्रो अवस्था रहेको मुलुकहरुलाई समेत हम्मेहम्मे पारिसकेको अवस्थामा नेपाल जस्ता अविकसित मुलुकहरूको के स्थिती होला त्यो हामी सहजै अनुमान लगाउन सक्छौं । यो लेख तयार गर्दाको समय सम्ममा नेपालमा चार जना संक्रमित भएकोमा एक जना निको भई घर फर्केको तथ्यांक छ ।

यस महामारीको नियन्त्रण गर्न सरकारले पूरै देशलाई लकडाउन त गरेको छ तर कोरोना भाईरसको बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई को अभाव भईरहेको र कतिपय ठाउँहरुमा पिपीइ विना नै उपचारमा खटिनु परेको स्वास्थ्यकर्मीहरुको गुनासा आईरहेको छ । पिपिई स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक साधन हो ।  किनकी यसको प्रयोग बिना स्वास्थ्यकर्मी स्वयं असुरक्षित हुन्छ र उनीहरुको मनोबल समेत गिर्ने हुँदा अझै गम्भीर परिणाम आउने निश्चित छ ।

नेपालमा अहिले संख्यात्मक हिसाबले सानो रहेता पनि कोरोना भाईरसको महामारीलाई यदि हामीले समयमै सावधानी पुर्‍याएनौ भने हाम्रो जस्तो मुलुक अनि श्रोत साधनले धान्ने कुरै छाडौं कहालीलाग्दो समय मात्र हुनेछ हामीमाँझ । ज्यादै थोरै समय मात्र हामीलाई उपलब्ध छ । भोलिका दिनमा हामीले चाहेर पनि केही  गर्न नसक्ने अवस्थामा पुग्ने निश्चित छ । यस महामारी नियन्त्रणकालागी सरकारले ढिलै भएपनि केही राम्रा पहलहरु नगरेका होइनन् तर यति गरेपछी हामी जोगिन्छौ भन्ने हिसाबले कताकता बाटो भुलेको यात्रीझै अल्मलिएको देखिन्छ सरकार ।

किनकी यस महामारीको विश्वभर फैलिरहेको वर्तमान गतिलाई अध्ययन र विष्लेषण गर्ने हो भने हामीसंग एक घण्टा पनि समय छैन । एक मिनेट पनि ढिलासुस्ती गर्ने विकल्प छैन । यतिका दिन भईसक्दा पनि सरकार महामारीलाई व्यवस्थापन र नियन्त्रण गर्ने भन्दा पनि आएको केसलाई रेस्पोन्ड मात्र गरिरहेको देखिन्छ । र यति थोरै केसमा खटिरहेका स्वास्थ्यकर्मीलाई समेत प्रभावकारी पिपिईको उचित व्यवस्थापन गर्न सकिरहेको छैन । यो भनेको हतियारले सुसज्जित सेनासंग बिना हतियार युद्ध गर भन्नु जस्तै हो । विना हतियार युद्ध लाड्न जाने सेनाले युद्ध जितिदैन आफैं मारिन्छ ।

यस्तो विषम अवस्थामा समेत विभिन्न छिमेकी मुलुकहरूबाट चाँडै सामाग्री ल्याउने कुरा सरकारले गरिबस्नु भनेको अरुमाथी आशा गर्ने भिखारी भन्दा फरक होइन भन्ने लाग्छ । यो महामारीले हाम्रो देश मात्र होइन, सबै देशहरु नराम्ररी प्रभावित छन् । यस्तो अवस्थामा उनीहरुलाई नै नपुग्ने र अरुलाई नदिने अवस्था सृजना हुने प्रबल सम्भावना समेत छ । तत्कालको अवस्थामा पिपिईलाई अन्य मुलुकबाट ल्याएपनि अब तत्काल हाम्रा उद्योग, सेना र प्रहरीको सहयोगमा स्वदेशमै कोरोना भाईरसबाट सुरक्षीत हुने उपायहरुको अबलम्बन गरि उत्पादन शुरु गर्न जरुरी छ । जे पर्दा र जहिले पनि अरुमा निर्भर रहने संस्कृतीलाई यहि संकटको घडीबाट पाठ लिई शुरूवात गर्नुपर्छ ।

 
चीनले जस्तो रातारात हजारौं बिरामीलाई उपचार गर्न सक्ने अस्पताल बनाउन नसके पनि युद्ध भुमिमा लडिरहेका स्वास्थ्यकर्मीहरुका लागि आवश्यक पिपीई र सर्वसाधारणका लागि माक्स र सेनिटाइजर त उत्पादन गर्नु पर्‍यो नि आफ्नै देशमा । त्यसैले, हाम्रो बलबुतले नसक्ने कुराहरु मात्र अरुको भर गरी परनिर्भरता होइन कि स्वनिर्भरताको लागि समेत आवश्यक पिपिई स्वदेशमै निर्माण गर्न जरुरी छ । यो स्वनिर्भरताको राष्ट्रिय क्षमता परिक्षण गर्ने महत्त्वपूर्ण अवसर हुनका साथै सम्भावित बज्रपातबाट बच्ने उत्तम विकल्प हुनेछ । यदि यस्ता आधारभुत कुरा जुन हाम्रो प्रयासबाट सम्भव छ त्यो पनि नगरी खाली परनिरर्भरतामै भर पर्ने हो भने हामी जहिल्यै संकटमा पर्ने र मृत्युको मुखमा पर्ने निश्चित छ । समयमै चेतना भया ।