गृष्मा राजभण्डारी (इमेज)
काठमाडौं, चैत १४ । सरकारले ‘लकडाउन’ घोषणा गरेपनि केही मानिसले त्यसको अवज्ञा गरिरहेका छन् ।
जति सम्झाइ-बुझाइ गर्दा पनि नमानेपछि प्रहरीले मानिसहरुलाई पक्रिन नयाँ उपाए अपनाउन थालेको छ ।
प्रहरी र सेनाले जनमानसमा चेत आओस् भन्ने हेतुले बारम्बार काठमाडौं उपत्यकाको चोक–चोक र गल्ली–गल्लीमा ‘माइकिङ’ गर्दै आएको छ ।
तर, केही व्यक्तिले लकडाउनको पहिलो दिनदेखि नै बेवास्ता गर्दै आएका छन् । ठाउँ–ठाउँमा परिचालित सुरक्षाकर्मीले लकडाउनको तेस्रो दिनसम्म सम्झाइ-बुझाइ उनीहरुलाई घर फर्काउने गरेका थिए ।
तर, सर्वसाधारणले अटेर गरी बिनाकाम सडकमा निस्कनेक्रम नरोकिएपछि प्रहरीले पक्राउको नयाँ तरिका अपनाएको छ ।
हातमा लगाउन सामान्य पञ्जासमेत नपाएका सुरक्षाकर्मीहरु मानिसलाईलाई पक्राउ गर्दा आफैंपनि जोखिममा थिए ।
जोखिम कम गर्न अहिले प्रहरीले अटेर गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिन एक उपकरणको प्रयोगमा ल्याएको छ ।
शारीरिक दूरी कायम गर्ने गरी प्रहरीले ‘रेस्क्यू’ तथा ‘एरेस्टेड’ उपकरण ल्याएको हो ।
यो उपकरणको प्रयोग गर्दा मानिसलाई नियन्त्रणमा लिन छुनु पर्दैन । झन्डै एक मिटरको दूरीबाटै मानिसहरुलाई नियन्त्रणमा लिन सकिन्छ ।
प्रहरीले यो उपकरण प्रयोग गरेर काठमाडौंमा झन्डै ५० व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
आफ्नो ज्यान जोखिममा राखेर सेवामा खटेका सुरक्षाकर्मीलाई हैरान गर्ने सर्वसाधारणलाई नियन्त्रणमा लिने यस्तो तरिका सराहनीय छ ।
लकडाउन सरकारले देशवासीको सुरक्षाका लागि अपनाएको कदम हो । यो राष्ट्रको रहर हैन, बाध्यता हो ।
कोरोनाको संक्रमणबाट बच्ने यो सबैभन्दा महत्वपूर्ण र उपयुक्त उपाएपनि हो । यसलाई पालना गरिएन भने राष्ट्रले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ ।









प्रतिक्रिया दिनुहोस्