बिराज रोस्यारा (इमेज)
कैलाली, चैत १४ । बिहीबार राति एउटा हल्ला डढेलोझैं फैलियो । सुदूरपश्चिमका घर, टोलमा रातभरि हल्ला फैलिएको हो ।
हरेक घरको आँगनमा खाल्डो खनेर हेर्दा त्यहाँ कोइला भेटिने र त्यो कोइलाको टीका लगाउँदा कोरोनाको संक्रमण नफैलिने हल्ला चल्यो । हल्ला यसरी चल्यो कि केहीले त्यसमा विश्वास पनि गरे ।
कतिपयले राति नै घरको आँगनमा खने ।
हल्लाले सामाजिक सञ्जालमा पनि व्यापकता पायो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कोइलाको हल्लापछाडि नलाग्न सर्वसाधारणलाई आग्रह गर्दै त्यसमा कुनै सत्यता नभएको बताए ।
वरिष्ठ फिजिसियन प्रा. डा. सुभेषराज कायस्थले कोइलाको हल्लाको पछाडि नलागि कोरोनाको संक्रमणबाट जोगिन र यो फैलिन नदिन घरभित्र बस्नुभन्दा अर्को उत्तम उपाय र विकल्प नभएको बताए ।
‘कोइला भेटिँदैमा र त्यसको टीका लगाउँदैमा कोरोनाको संक्रमण नफैलिने हुँदैन । यदि, मान्छेहरुले ‘लकडाउन’लाई हल्का ढंगले लिएर घरबाहिर निस्किन छोडेनन् र यसलाई सामान्यरुपमा लिए, भोलि भयावह अवस्था आउनेछ’-उनले भने-‘अफवाह, अन्धविश्वास र हल्लाका पछाडि नलाग्न र आम सचेत नागरिकले सामाजिक सञ्जालमा यसलाई चिर्न आवश्यक छ ।’









प्रतिक्रिया दिनुहोस्